नाका खुलाइदिन प्रधानमन्त्रीसमक्ष व्यवसायीको माग



कृष्णउदास खनाल, वीरगन्ज ।

लामो समयदेखि बन्द रहेको वीरगन्जको सीमा नाका खुलाउन माग गर्दै सोमबार वीरगन्जका होटल तथा पर्यटन व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी उनीहरूले वीरगन्जको सीमा नाकाबाट भारतीय सवारी साधनलाई निर्वाधरूपमा आउन नदिँदा पर्यटकहरु घटेको र जसका कारण यस क्षेत्रको होटल व्यवसाय चौपट भएको कुरा प्रधानमन्त्रीसमक्ष राखेका छन् । सीमा नाका बन्द हुँदा वीरगन्ज क्षेत्रका होटल ब्यवसाय र यहाँको पर्यटन क्षेत्रमा परेको समस्याको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवा यो विषयमा सकारात्मक भएको पनि जानकारी दिनुभयो । २०७६ साल चैत ११ गतेबाट कोरोना संक्रमणको जोखिम रहेको भन्दै सरकारले बन्द गराएको सीमा नाका औपचारिक रुपमा अझै नखुलेपछि यहाँका व्यवसायीहरु मारमा परेका हुन् । उनीहरुले पटक–पटक सीमा नाका सहज बनाइदिन माग गर्दै आइरहेका छन् । वीरगन्जमा करिब ७० वटा साना तथा ठूला होटल रहेको र २० अर्बको लागनी होटल क्षेत्रमा रहेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्