कानसम्बन्धी समस्यालाई बेवास्ता नगरौं



कान मानिसको प्रमुख ज्ञानेन्द्रियमध्येको एउटा महत्वपूर्ण अंग हो । कानको बाहिरी आकृतिले मानिसको शारीरिक शोभा बढाउने काम गर्दछ । कान मानिसको अनुहारको दायाँ–बायाँ भागमा हुन्छ । कानको मुख्य काम सुन्ने र शरीरलाई सन्तलुनमा राख्ने हो । कान बाह्य, मध्य र भित्री भागमा विभाजित हुन्छ ।

कानको बाह्य भाग, जुन सिमी आकारको मांसपेशी र कुरकुरे हह्डीबाट बनेको हुन्छ । मध्यभागमा ३ वटा स–साना हड्डी हुन्छन्, जसलाई घन, अचानो र रिकाप भनिन्छ । कानको मध्यभागको एउटा नलीद्वारा नाक र घाँटीसँग जोडिएको हुन्छ । भित्री भागमा तरल र विशेष किसिमका तन्तुहरु रहेका हुन्छन् ।

बाहिरबाट आएको आवाज कानको प्वाल, जाली, हड्डी हुँदै भित्री भागमा प्रवेश हुन्छ । त्यहाँ सुनाइ र सन्तुलनसम्बन्धी विशेष काम हुन्छ । सो तरंगको रुपमा नसाहरुले मस्तिष्क वा केन्द्रसम्म पुर्‍याउँछ र प्रतिउत्तरको लागि वातावरण तयार हुन्छ ।

यदि कानको अवस्था ठीक छैन भने आवाज ग्रहण र प्रतिउत्तरमा पनि बाधा पुग्न जान्छ । साथसाथै शरीर असन्तुलन हुन पनि सक्छ । कानमा हुने समस्या तथा रोगको समयमा उपचार गरिएन भने जीवनभर नै पूरा बहिरो वा अर्धबहिरो भएर बाँच्नुपर्ने हुन्छ । त्यसैले स्वस्थ जीवनको लागि स्वस्थ काम महत्वपूर्ण हुन्छ ।

कानमा विभिन्न समस्या देखा पर्ने हुन्छ । जसलाई यहाँ वर्णन गरिएको छ । कानमा आउने समस्यामध्ये कानको भित्री भागमा देखा पर्ने समस्या प्रमुख हो । कानको जुनसकै भागको समस्याले दुख्ने तथा सुनाइमा समस्या आउने हुन्छ । अर्थात् यस्तो समस्या बाहिरी, मध्य र भित्री कानमध्ये जुनसुकै भागमा हुनसक्छ । कानको जुनसुकै ठाउँमा समस्या हुँदा पनि सुनाइमा समस्या आउँछ । कान दुख्ने, चिलाउने, कानेगुजी आउने, कान कराउने, नाक र कानको बीचको नली खराब हुुनेजस्ता समस्या आएमा श्रवण शक्ति कमजोर हुँदै हुन्छ ।

त्यस्तै कान पाक्ने समस्या विशेष गरी केटाकेटीहरूमा बढी देखा पर्छ । यसको समयमै उपचार गर्नुपर्दछ । कान पाक्ने, कहिलेकाहीँ कानबाट रगत मिसिएको पातलो पीप देखा पर्ने र लामो समयसम्म उपचार नगरेमा दीर्घरोगमा परिणत हुनसक्छ । जसले गर्दा बच्चाहरूको सुन्ने शक्ति कमजोर हुन्छ । समयमै उपचार नगरेमा यो रोग जटिल समस्याका रूपमा देखा पर्न सक्छ ।

कान पाक्ने समस्याको बेलैमा उपचार नगर्दा कानको वरिपरि, भित्री कान, कानको पछाडिको हाडमा समेत संक्रमण फैलिन्छ । जसको कारण बिरामीको ज्यान नै जोखिममा पर्छ । त्यसैले कान पाक्ने रोगबाट बच्नुपर्दछ । बच्चाको कान पाक्न नदिन बच्चालाई समयमै सबै खोपको मात्रा पूरा गर्ने, सुत्केरी आमाले बच्चालाई सुताएर दूध नचुसाउने, कान सधैँ सफा राख्ने, बोतलको दूध नखुवाउने, पौष्टिक आहार पाइने खानेकुरा खुवाउनेलगायतका उपाय अपनाउनुपर्दछ ।

नाकमा हुने संक्रमणका कारण श्रवण शक्तिमा ह्रास आउने गर्दछ । नाकको नली मध्यकानमा जोडिएको हुन्छ । नाकको संक्रमण फैलिएर कानसम्म पुग्ने हुँदा यसले समस्या उत्पन्न गराउँछ । साथै, कानको मध्यभागमा पानी र ग्लु जम्मा भई कान कम सुन्ने समस्या सृजना हुन्छ । यो रोग लागिसकेपछि कान अलि–अलि दुख्ने हुन्छ तर पीप भने आउँदैन ।

कानेगुजी भरिनु, बाहिरी, मध्य र भित्री कानमा रोगको संक्रमण हुनु, कानमा हड्डी जाम हुनु, उमेर बढ्दै जाँदा कानको नसा सुक्दै जानु, कानभित्र मासु पलाउनु, ध्वनि प्रदूषणका कारण श्रवणशक्तिमा कमी आउनु कानमा समस्या आउने प्रमुख कारण हुन् ।

त्यसैले कानभित्र पानी पस्नबाट जोगाउनुपर्छ । नुहाउनुपहिला कानमा सफा कपास राखी सोको माथि मल्हम, क्रिम, भ्यासलिन दलेर नुहाउने र नुहाइसकेपछि निकालेर फ्याँक्ने गर्नुपर्छ । त्यस्तै जथाभावी कानमा तेल वा कुनै तरल पदार्थ राख्नुहुँदैन । नेपाली समाजमा तोरीको तेल, तुलसीको पातको रसजस्ता पदार्थ कानमा राख्ने प्रचलन छ । यस्ता तरल पदार्थ कानमा राख्दा कानको मध्यभागमा पुगेर जमी पुनः संक्रमण हुने सम्भावना बढी हुन्छ ।

जथाभावी कान नकोट्याउने, कान पाक्ने रोग भएका व्यक्तिले पौडी नखेल्ने, सिन्का वा अन्य धारिलो वस्तुले कान नकोट्याउने, रुघा लाग्नबाट जोगिने गर्नुपर्छ । रुघा लाग्यो भने कानभित्र पानी जम्ने र संक्रमण हुने खतरा हुन्छ । त्यसैले रुघा लागेमा तुरुन्त उपचार गराउनुपर्छ ।

कानमा समस्या भई त्यहाँबाट कुनै पनि तरल पदार्थ बग्नुलाई कान पाक्नु भनिन्छ । सामान्यतया बनावटका आधारमा बाहिरी, मध्य र भित्री गरी कानलाई तीन भागमा विभाजन गरिएको हुन्छ । जसमध्ये कानको मध्यभागमा विभिन्न कारण संक्रमण हुँदा पिप जम्छ । जमेको पिपले कानको जाली प्वाल पारेर बाहिर निस्कनुलाई कान पाकेको भनिन्छ ।

क्रोनिक हुँदा लामो समयसम्म कानमा संक्रमण हुने गर्छ । यसले गर्दा करिब तीन महिनासम्म कानबाट पिप बग्ने, दुख्ने जस्ता समस्या देखिन्छ । कान पाक्ने समस्या सबैभन्दा बढी देखिने समस्या हो । यो जुनसुकै उमेर समूहका मानिसमा हुनसक्छ । तर यसबाट बालबालिका बढी प्रभावित हुने गर्छन् ।

कान पाक्दा बच्चाहरूमा कान दुख्ने, ज्वरो आउने र रुघाखोकी लाग्नेजस्ता लक्षण देखिन्छन् । त्यस्तै क्रोनिक ओटाइटिस मिडिया भएमा कानबाट पिप बगिरहने भएकाले भित्री भागमा पनि संक्रमण हुने डर हुन्छ । बिस्तारै कान कम सुन्ने वा सुन्दै नसुन्ने पनि हुनसक्छ । कान पाकेको लामो समय भएमा शरीरका अन्य अंग पनि प्रभावित हुँदै जान्छन् । लामो समयसम्म रुघाखोकी लाग्दा बच्चाहरूमा कान पाक्ने समस्या हुनसक्छ । त्यस्तै बच्चालाई सुतेर वा असजिलो गरी दूध खुवाउँदा कानमा परेमा कान पाक्छ ।

फोहोर पानीमा खेल्दा वा नुहाउँदा कानमा पानी परेमा समेत कानमा समस्या हुन्छ । साथै, कानको जालीमा असर पर्ने गरी कान कोट्याउँदा, चोटपटक तथा झै–झगडाबाट कानको जालीमा असर परेमा संक्रमण हुने गर्छ । कान पाक्ने समस्याबाट बालबालिकालाई बचाउन अभिभावकले विशेष ध्यान दिनुपर्छ । दूध खुवाउँदा कानमा पर्न दिनुहुँदैन । कानमा तेल हाल्नुहँुदैन । फोहोर पानीमा खेल्न दिनुहुँदैन । संक्रमण हुनबाट बचाउन नियमित भ्याक्सिन लगाउनुपर्छ । नुहाउँदा कानमा कपास राख्न सकिन्छ ।

– विश्व अज्ञात, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्