‘सानो उपग्रह प्रक्षेपण बजारको केन्द्र बन्न भारत तयार’



इन्डिया न्युज नेटवर्क ।

भारतीय केन्द्रीय मन्त्री जितेन्द्र सिंहले बुधबार भारत सानो उपग्रह प्रक्षेपण बजारको केन्द्र बन्न तयार रहेको बताउँदै अस्ट्रेलिया र न्युजील्यान्ड जस्ता ओसिनिया देशहरूलाई अन्तरिक्ष क्षेत्रमा सहयोग गर्न आमन्त्रित गरेका छन् ।

फिक्कीद्वारा आयोजित भारत लिड्स –२०२१ शिखर सम्मेलनमा बोल्दै सिंहले सन् २०२७ सम्ममा साना उपग्रह प्रक्षेपण बजार ३८ अर्ब अमेरिकी डलर बराबरको हुने अनुमान गरेका छन् ।

केन्द्रीय अन्तरिक्ष विभाग राज्य मन्त्रीले चन्द्र जाँच प्रक्षेपण, उपग्रह निर्माण, विदेशी उपग्रहहरू अन्तरिक्षमा‌ लैजानेजस्ता क्षेत्रमा भारतले प्रसिद्धी कमाएको बताएका छन् । भारत मंगल ग्रहमा पनि पुग्न सफल भएको र धेरै समयदेखि मंगलयान त्यहाँ रहेको पनि उनले उल्लेख गरेका छन् ।

‘साझेदारी र संयुक्त उद्यम अन्वेषण’

मन्त्रीका अनुसार अस्ट्रेलिया र न्युजील्यान्डजस्ता मुलुक सूक्ष्म र साना उपग्रह निर्माण, उच्च प्रदर्शन प्रकाशक, रेडियो सञ्चार प्रणाली, अप्टिकल सञ्चार प्रणाली, अत्याधुनिक तथ्यांक प्रणालीजस्ता क्षेत्रमा उच्चतम छन् ।

उनले ओसिनिया र प्रशान्त टापुका देशहरू भारतसँग सहकार्य गरी संयुक्तरूपमा अन्तरिक्ष प्रविधि समाधान र नवीन उत्पादनहरूको विकास गर्न सक्ने उल्लेख गरेका छन् । यी सबै क्षेत्रमा शिक्षा, उद्योग र नयाँ व्यापारका लागि यी मुलुक भारतसँग सहकार्य गरी अघि बढ्न सक्ने मन्त्रीले औंल्याएका छन् यस सम्बन्धमा संयुक्त परियोजनाहरूमा काम गर्ने अवसर रहेको पनि उनको भनाइ छ ।

यस्तो साझेदारीबाट अन्तर्राष्ट्रिय रक्षा कम्पनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत गर्न सकिन्छ । दुर्गम सेन्सर प्रविधिमा अस्ट्रेलिया विश्व नेता भएको औंल्याउँदै सिंहले भारत र ओसियाना मुलुकले नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर र प्रविधि विकासमा भएका राम्रा अभ्यास साझा गरेर एक अर्कालाई सहयोग गर्न सक्ने बताएका छन् ।

सन् १९८७ देखि तथ्यांक संशोधन र लेजर प्रविधि विकास, अस्ट्रेलियाली उपग्रहहरू प्रक्षेपण, र संयुक्त अनुसन्धान सञ्चालनका लागि अस्ट्रेलिया र भारत साझेदारी गर्दै आएका छन् । भारतको प्रथम मानवयुक्त गगनयान अभियानका लागि अस्ट्रेलियाली अन्तरिक्ष एजेन्सी इस्रोका साथ सहकार्य गर्दै आएको छ । यसका लागि अस्ट्रेलियामा अस्थायी ग्राउन्ड स्टेसनको पनि निर्माणमा लागेका छन् ।

विगत केही वर्षमा अन्तरिक्ष उद्योग विश्वव्यापी रूपमा सबैभन्दा आकर्षक उद्योगको रूपमा उदायमान रहेको र बजारमा साना, सूक्ष्म उपग्रहहरू र पुनः प्रयोजनीय र साना उपग्रह प्रक्षेपण वाहन प्रणालीको माग अप्रत्यासित रूपमा बढ्ने उनको भनाइ रहेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आफ्ना अन्तरिक्ष परियोजनाहरूलाई लागु गर्न सार्वजनिक र निजी क्षेत्र दुवै प्रकारका उद्योगसँग सहकार्य गरिरहेको उनले जानकारी दिएका छन् ।

इसरोले अत्याधुनिक प्रविधि र अन्तर–ग्रह अन्वेषण अभियानको विकास गरिरहेको छ । यसका साथै परिचालन अभियान र उपग्रह पथप्रदर्शनमा पनि मनग्य अवसर रहेको छ ।

भारतले अन्तर्राष्ट्रिय संलग्नता विस्तार गर्दै

भारतले अन्तर्राष्ट्रिय संलग्नता विस्तार गर्न धेरै देशहरू र संगठनहरूसँग सहकारी सम्झौतामा हस्ताक्षर गरेको सिंहले बताएका छन् ।सहयोगका क्षेत्रहरूमा टाढाबाट पृथ्वीको सेन्सर पत्ता लाउने, हवाइ राडार, सामुद्रिक सुरक्षामा जागरूकता, उपग्रह सञ्चार, प्रक्षेपण सेवाहरू, अन्तरिक्ष अन्वेषण, अन्तरिक्ष कानुन र क्षमता निर्माण समावेश छन् ।

आफ्नो सम्बोधनको‌ क्रममा उनले भारतीय अन्तरिक्ष उद्योगको केही प्रमुख उपलब्धिहरूका बारे पनि बताएका छन् ।

भारतको पहिलो अन्तरिक्ष वेधशाला, एस्ट्रोस्याटले अन्तरिक्षमा चार वर्ष पूरा गरिसकेको छ र २४ देशहरूबाट ९ सयभन्दा बढी दर्ता भएका प्रयोगकर्ताहरू छन् ।

२०१७ एक रकेटमा १०४ उपग्रहको प्रक्षेपणसँग एक प्रमुख उपलब्धि रहेको छ । सन् २०१९ जुलाई महिनामा भारतको सबैभन्दा शक्तिशाली प्रक्षेपण वाहन जीएसएलभी–एमके तेस्रोद्वारा ४ टनको जियोसिंक्रोनस ट्रान्सफर कक्ष (जीटीओ) को सफल प्रक्षेपण गरिएको छ ।

भारतले १०९ वटा अन्तरिक्ष यान अभियान सञ्चालन, ७७ वटा प्रक्षेपण अभियान, १० उपग्रह, २ पुनः प्रवेश अभियान र ३ सय १९ विदेशी उपग्रहहरूको प्रक्षेपण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्