बैंकको ब्याजदर उर्लियो, पुँजी बजारमा पहिरो



नेपाल समाचारपत्र, काठमाडौं। 

आज असोज १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदरमा वृद्धि गरेका छन् । लगानीयोग्य पुँजीकोे अभाव देखाउँदैे बैंकहरूले ब्याजदरमा भारी वृद्धि गरेका हुन् ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको मुद्दति निक्षेपको नयाँ ब्याजदर १० प्रतिशतभन्दा बढीसम्म रहेको छ । यद्यपि, अधिकांश बैंकहरूको ब्याजदर भने नौदेखि दश प्रतिशतको बीचमा रहेको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार बचतको न्यूनतम ब्याज र मुद्दतिको अधिकतम् ब्याजदर बीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी हुनुहुँदैन तालिकामा देखाइएको ब्याजदर मुद्दति निक्षेपको हो । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गर्दै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेको थियो ।

राष्ट्र बैंकको नयाँ व्यवस्थापछि बैंकहरुसँग लगानीयोग्य पुँजी अभाव शुरू भएको थियो । केन्द्रीय बैंकको नयाँ नीतिका कारण तरलतामा दबाब सिर्जना भइरहेका बेला बजेट होलिडे हुँदा बैंकिङ प्रणालीमा पुँजीको अभाव हुन पुगेको जानकारहरू बताउँछन् । अहिले बजेट होलिडे भएकाले राजस्व संकलन जारी रहे पनि सरकारी खर्च ठप्प रहेको स्थिति छ । यसको प्रत्यक्ष असर बैंकिङ प्रणालीमा देखिन लाएको छ । त्यसमा राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गर्दै सीडी रेसियो ९० प्रतिशत कायम गर्दा पुनर्कर्जा, ऋणपत्र तथा विदेशी मुद्रामा लिएको कर्जालाई समेत गणना गर्न पाउने व्यवस्था छ । तर, सीसीडी रेसियो खारेज गर्दा बैंकहरुमा कर्जा दिने क्षमता घटे पनि यसबीचमा कर्जाको माग बढेको छ ।

चालू आर्थिक वर्षको दुई महिनाभित्र बैंकहरुले करिब १४० अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् भने निक्षेप संकलन ५९ अर्ब रुपियाँले घटेको छ। कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र चलायमान हुने क्रममा रहेको थियो । तर, परिस्थिति भिन्न बन्न पुगेको छ । बैंकहरूले सर्वसाधारणबाट रकम संकलन गर्न ब्याजदर वृद्धि गरेको भन्दा पनि अहिले आफूसँग भएको निक्षेप अन्यत्र नओस् भन्नका लागि ब्याजदर वृद्धि गरिएको बैंकरहरूको भनाइ छ । बैंकिङ प्रणलीमा तरलता कम हुँदै गएपछि नेपाल राष्ट्र बैंकले बिहीबारमात्रै २० अर्ब रुपियाँको रिपो जारी गरेको थियो । निक्षेपको ब्याजदरमा वृद्धि भएसँगै कर्जाको ब्याजदर पनि वृद्धि हुने निश्चित छ ।

यसैबीच बैंकहरूको ब्याजदर वृद्धि हुँदै गर्दा शेयर बजारमा भने पहिरो गएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७६ दशमलव ६५ अंकले ओरालो लाग्दै बिहीबार नेप्से २८१२ दशमलव ३८ बिन्दुमा ओर्लिएको छ । यससँगै नेप्सेको बजार पुँजीकरण ३९ खर्ब ३५ अर्ब ७४ करोड १८ लाख रुपियाँ भएको छ ।

कुल २२९ कम्पनीको एक करोड ६४ लाख ६८ हजार कित्ता शेयर ९ अर्ब ३ करोड ३९ लाख रुपियाँको कारोबार भएको छ । यस दिन कारोबार भएका १३ वटै समूहको सूचक ओरालो लागेको छ । जसमध्ये बैंकिङ ४१ दशमलव १४, व्यापार ११० दशमलव १३, होटल तथा पर्यटन १२५ दशमलव ८३, विकास बैंक १९७ दशमलव २२, जलविद्युत् १३७ दशमलव ७९, वित्त १३९ दशमलव ४४, निर्जीवन बीमा ३८३ दशमलव ७, उत्पादन १३७ दशमलव ३९, अन्य ३१ द्यशमलव १६, लघुवित्त १७१ दशमलव ७७, जीवन बीमा ४५२ दशमलव ५९, सामूहिक लगानी कोष शून्य दशमलव २४ र लगानी समूह २ दशमलव ३९ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ६० लाख ४३ हजार रुपियाँको कारोबार भएको छ । यस्तै रिडी हाइड्रोपावरको २८ करोड ३८ लाख ७४ हजार, अपि पावर कम्पनीको २५ करोड ५८ लाख ७८ लाख, युनाइटेड मोदी हाइड्रोपावरको २२ करोड ९८ लाख ५३ हजार र हिमालयन डिस्टिलरीको २० करोड ४३ लाख ९० हजार रुपियाँको कारोबार भएको छ । समग्र परिसूचकमा पहिरो गएको दिन मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै आइसीएफसी फाइनान्सको डिवेञ्चर, सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् ।

वाणिज्य बैंकहरूको मुद्दति निक्षेपको ब्याजदर

बैंक ब्याजदर (प्रतिशतमा)
सन्राइज बैंक १०.०७
प्राइम कमर्सियल बैंक ९.७६
मेगा बैंक नेपाल ९.५५
एनएमबि बैंक ९.५२
सानिमा बैंक ९.५१
ग्लोबल आइएमई बैंक ९.५०
नबिल बैंक ९.२६
एनसीसी बैंक ९.२६
सेञ्चुरी कमर्सियल बैंक ९.२५
हिमालयन बैंक ९.१५
सिद्धार्थ बैंक ९.०५
ग्लोबल आइएमई ९.०५
नेपाल इन्भेष्टमेन्ट बैंक ९.०२
लक्ष्मी बैंक ९.००
बैंक अफ काठमान्डू ८.७७
नेपाल बंलादेश बैंक ८.७६
माछापुच्छ«े बैंक ८.७५
एभरेष्ट बैंक ८.६१
कृषि विकास बैंक ८.६०
नेपाल एसबीआई बैंक ८.५५
सिभिल बैंक ८.५५
कुमारी बैंक ८.५१
प्रभु बैंक ८.२५
राष्ट्रिय वाणिज्य बैंक ८.०६
नेपाल बैंक ८.०५
सिटिजन्स बैंक इन्टरनेसनल ८.००
स्ट्यान्डर्ड चाटर्ड बैंक ७.५५

प्रतिक्रिया दिनुहोस्