पुनर्निर्माण बाँकी काम हस्तान्तरण शुरू



नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका निजी आवासलगायतका संचनाहरुको पुनर्निर्माणसम्बन्धी बाँकी कार्य सम्बन्धित निकायमा हस्तान्तरण शुरू भएको छ । बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित एक औपचारिक कार्यक्रममा पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बाहरु तथा सडक एवं पुलहरुको कार्यहस्तान्तरण गरिएको हो ।

निजी आवासतथा बस्ती विकासतर्फका बाँकी कार्यहरु शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ । यसका साथै, सरकारी एवं सार्वजनिक भवन एवं स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत सञ्चालित सम्पदा एवं गुम्बाहरुको पुनर्निर्माणसम्बन्धी कार्य पनि उक्त विभागलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले उक्त बाँकी कार्यहरु शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गर्नुभएको हो । यसका साथै केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले गर्दै आएको निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनसहितका पुनर्निर्माणसम्बन्धी बाँकी कार्य पनि शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण भएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले उक्त कार्यहरु शहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गर्नुभयो । पुनर्निर्माण गर्न बाँकी रहेका शैक्षिक संस्थाहरुको पुनर्निर्माणसम्बन्धी कार्यहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सो अन्तर्गतका तोकिएका जिल्लास्थित कार्यालयमा हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका ५वर्ष ८ महिना २० दिनमा पुननर्निर्माण गर्नुपर्ने कूल संरचनाहरुमध्ये मूलभूत रुपमा प्रायःसम्पूर्ण कार्यहरु सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेको बताउनुभयो ।

ज्ञवालीले नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायलाई बाँड्न आगामी मंसिर २१ देखि २३ सम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको र त्यस अवसरमा ‘विपद्–जोखिमबाट सुरक्षित नेपाल निर्माणसम्बन्धी मार्गचित्र सहितको खाका’ प्रस्तुत गरिने पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्