अध्यक्ष तिमिल्सिना र एडीबीका आवासीय प्रमुखबीच भेट



काठमाडौं ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइस बीच शिष्टाचार भेटघाट भएको छ । नेपालका लागि नवनियुक्त डाइरेक्ट काउचोइसले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको लागि निर्देशक हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको समेत लगानीमा सञ्चालनमा रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाकोे प्रभावकारिता र छिटो कार्यान्वयन गराउने सन्दर्भमा कुराकानी गर्नुभयो ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि सडकहरू छनोटको प्रक्रिया तीन वर्ष अगाडिबाट शुरू भए पनि हालसम्म कार्यान्वयनको प्रक्रिया केही विलम्ब हुन गएकोले ग्रामीण भेगका जनता र जनप्रतिनिधिको अपेक्षाअनुरूप उक्त सडकहरू छिटो सम्पन्न हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले संघीयता लागू भइसकेको तर प्रदेश र स्थानीय तहमा दक्ष जनशक्ति नियुक्त गर्न ऐन नबनेको हुँदा यस परिस्थितिलाई मध्यनजर गर्दै आयोजनाहरू समयानुकूल अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

भेटका क्रममा एडीबीका कन्ट्री डाइरेक्टर काउचोइसले ग्रामीण सडक सञ्जाल सुधार आयोजनालाई छिटो र प्रभावकारी सञ्चालनको विधि र प्रक्रिया निर्धारण गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले आयोजना अध्ययन गर्न आउने बोर्ड सदस्यहरूको टिमले प्रदेश सरकार र स्थानीय तहसँग भेटघाट गरी अध्ययन गरेपछि नेपालको हालको कानुनी र व्यावहारिक पक्षका आधारमा आयोजना सञ्चालनको विधि र प्रक्रिया निर्धारण हुने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्