सोलारको ५ मेगावाट ग्रिडमा



काठमाडौं, (नेस) ।

राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थप भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।

आयोजनामा १३ हजार ५ सय सौर्य प्यानल जडान गरिएको छ । बेलचौतारास्थित भानुभक्त क्याम्पसको सय रोपनी जग्गा भाडामा लिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग २०७५ साउनमा विद्युत् खरिद सम्झौता (पीपीए) हुँदा आयोजनाबाट २०७६ साउनदेखि विद्युत् उत्पादन शुरु गर्ने तालिका थियो । आयोजनाबाट दैनिक करिब २४ हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट ७ दशमलव ३० रुपियाँमा खरिद गर्नेछ । ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ अनुसार प्राधिकरणसँग पीपीए गर्ने यो पहिलो आयोजना हो ।

सन् २०१७ बाट निर्माण शुरू भएको परियोजना कोभिडका कारण ढिलाइ भएको प्रालिका अध्यक्ष मोहन गुरुङले जानकारी दिनुभयो । कम्पनीले थप १५ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । गुरुङका अनुसार म्याग्दीमा १२ र तनहुँथप तीन मेगावाट विद्युत् उत्पादन गर्ने सोच लिइएको छ । आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ ले लगानी गरेको छ । ४३ करोडको लगानीमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनामा डोल्मा इम्प्याक्ट फण्ड र स्थानीय केही व्यवसायीको पनि लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्