यातायात कर्मचारीले तीन वर्षसम्म सुविधाको रकम पाएनन्



हेटौंडा, (नेस) ।

यातायात व्यवसायीको सबैभन्दा ठूलो संस्था नारायणी यातायात व्यवसायी संघ बिघटन गरेर नारायणी यातायात कम्पनी लिमिटेड बनाइएको झण्डै ३ वर्ष पुगिसक्दा पनि पूर्वकर्मचारीलाई संघले दिने भनिएको थप अतिरिक्त सेवा रकम नदिएको गुनासो गरेका छन् ।

पूर्वकर्मचारी संघर्ष समिति संयोजक शंकर दाहालले आफूहरुलाई संघले सेवाअवधिको थप रकम उपलब्ध गराउने भनेकोमा उक्त रकम उपलब्ध नगराइएको बताउनुभयो । उहाँले आफ्नो करिब ३० वर्ष सेवाअवधि रहेको र आफूले सम्झौताअनुसार ३० महिनाको तलबबराबर रकम पाउनेमा त्यसो नभएको आरोप लगाउनुभयो । उहाँले सबै १९ जनाको उस्तै समस्या रहेको बताउनुभयो ।

पूर्वकर्मचारीले सबै काममा गर्न नारायणी यातायात संघकै सम्पति प्रयोग भइरहेको तर आफूहरुको अतिरिक्त सेवा रकम दिन राज्यले सम्पति रोकेको बहाना गरिरहेकाले जिल्ला प्रशासन कार्यालयले चाँडै सुनुवाइ गरेर रकम उपलब्ध गराइदिन माग गरेका छन् । तर, प्रालिका प्रवन्ध सञ्चालक सरोज खनालले मकवानपुर जिल्ला प्रशासन कार्यालयले नदिनू भन्ने आदेश दिएकाले पूर्वकर्मचारीलाई रकम दिन रोकेको स्पष्ट पार्नुभएको छ । पूर्वकर्मचारीको अतिरिक्त सेवावापत् रकम दिन नसकिएको उहाँले बताउनुभयो ।

खनालले नारायणी यातायात व्यवसायी संघ हँुदाको अवस्थामा रहेका पूर्वकर्मचारीहरुलाई दिने भनिएको अतिरिक्त सेवावापत् रकम दिइने तर हालसम्म प्रशासनले अनुमति नदिएकाले रोकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्