नेपालमा भारतीय लगानी सबैभन्दा धेरै



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल आएको प्रत्यक्ष वैदेशिक लगानीमा सबैभन्दा धेरै भारतबाट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७६/७७ मा सो तथ्यांक उल्लेख छ । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तसम्ममा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् ६२ अर्ब ४५ करोड र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड, सेन्ट किस्टस एन्ड नेभिसबाट १५ अर्ब २७ करोड, आयरल्यान्डबाट १२ अर्ब ९३ करोड र सिंगापुरबाट १२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा र ४३ दशमलव ९ प्रतिशत सेवा क्षेत्रमा रहेको छ । औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८ दशमलव ३ प्रतिशत र जलविद्युत् क्षेत्रमा २७ दशमलव ५ प्रतिशत वैदेशिक लगानी रहेको छ । साथै कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७ दशमलव ३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण प्रतिवेदन प्रकाशन गरेको हो ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८ दशमलव ५ प्रतिशतले वृद्धि भई १९८ अर्ब ५२ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४ दशमलव ४ प्रतिशत, रिजर्भ ३३ दशमलव ८ प्रतिशत र कर्जाको अंश ११ दशमलव ८ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश २२ दशमलव ६ प्रतिशतले बढेकाले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि आएको हो ।

प्रतिक्रिया दिनुहोस्