मेगा बैंकले विद्युतीय यातायात व्यवसायीलाई सहुलियत कर्जा दिने



काठमाडौं, (नेस) ।

मेगा बैंक नेपालले लघु तथा साना उद्यमीलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनीसँग सम्झौता गरेको छ । मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार नेको इनर्जी सोलुसनसँग आबद्ध साना विद्युतीय यातायात व्यवसायीलाई स्वरोजगार तथा व्यवसाय संचालनका लागि मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कर्जाका लागि नेको इनर्जी सोलुसनले मेगा बैंकलाई सिफारिस गर्ने सम्झौता भएको छ ।

सम्झौता हस्ताक्षरपछि श्रेष्ठले साना विद्युतीय यातायात व्यवसायीलाई मेगा बैंकका देशभरका शाखाबाट छिटो तथा छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गरिने भएकाले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो । यस्तै पौडेलले मेगा बैंकले महिला तथा विपन्न वर्गका समुदायलाई प्राथमिकताका साथ लघु तथा साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदानसहितको कर्जा प्रवाह गर्दै आएकोले आफूहरुले सहकार्य गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्