उखु कृषकको अझै ७ करोड बक्यौता



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा र बाराका किसानले सरकारबाट गत वर्षकै उखुको अनुदान रकम नपाएको गुनासो गरेका छन् । पर्सा र बाराका उखु किसानले सरकारबाट गत वर्षकै अनुदानवापतको करिब ७ करोड रुपियाँ अहिलेसम्म पनि नपाएको उखु उत्पादक संघ पर्साका अध्यक्ष असर्फी साहले जानकारी दिनुभयो  । पर्सा र बाराका किसानले आफूले फलाएको उखु, बाराको श्रीपुर मनहर्वास्थित रिलायन्स सुगर मिल र रौतहटको कटहरियास्थित बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिलाई बेच्दै आएका छन् ।

सरकारले चिनी मिलसँग किसानको तथ्यांक लिएर प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान किसानलाई दिने गर्छ  । त्यसैले चिनी मिलले किसानलाई उखु खरिद गरेवापत रकम भुक्तानी गर्दा सरकारले तोकेको भाउमा प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा कम भुक्तानी दिन्छ । त्यो रकम सरकारले अनुदान स्वरुप किसानलाई उपलब्ध गराउने गरेको छ । सरकारले कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत् किसानलाई यो रकम बर्षेनी वितरण गर्ने गर्छ ।

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४२ रुपियाँ निर्धारण गरेको थियो ।दुवै जिल्लाका किसानको अनुदान रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा आउने भएकाले यस सम्बन्धमा आफूलाई कुनै जानकारी नै नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगन्जका सूचना अधिकारी विष्णु सुवेदीले बताउनुभयो । पोहोरसालकै अनुदान रकम अहिलेसम्म पनि नपाउँदा किसानहरु मर्कामा परेको अध्यक्ष साहको भनाइ छ । एक त चिनी मिलले पनि उखुको भुक्तानी समयमा नदिने गरेको र त्यसमा पनि सरकार आफैंले पनि अनुदान रकम दिन ढिला गर्दा उखु खेती गर्ने किसानको मनोबल खस्कदै गएको साहले बताउनुभयो । अहिले फेरि चिनी मिललाई उखु बेच्ने समय नजिकिइसकेको अवस्थामा किसानले सरकारी अनुदानको रकम पाए, खेतबाट उखु, सम्बन्धित चिनी मिलसम्म पु¥याउने ढुवानी खर्चको जोहो हुन सक्ने आशमा किसान बसेको साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्