२७ गते अगावै सबै वडा अधिवेशन गर्ने प्रयास जारी



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेसको १८ गतेदेखि जारी तल्लो तहको अधिवेशनअन्तर्गत सोमबारसम्म ४१ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । पहिलो दिन ३५ वटा जिल्लाको वडामा अधिवेशन शुरू गरेको कांग्रेसले दोस्रो दिन दुई र तेस्रो दिन एक र हिजो सोमबार ११ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेको छ ।

निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार यसअघि क्रियाशील सदस्यको सूची सार्वजनिक भएका ५६ जिल्लामध्ये ७ जिल्लामा आज र भोलि वडा अधिवेशन हुँदैछ । जसमध्ये आज ५ जिल्ला र भोलि दुई जिल्लामा वडा अधिवेशन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सोमबार पनि थप एक जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक भएको निर्वाचन समितिका संयोजक यादवले जानकारी दिनुभएको छ । अब २० जिल्लाको भने वडा अधिवेशन प्रक्रिया अझै अनिश्चित छ ।

समितिका संयोजक यादवले जानकारी दिएअनुसार क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न बाँकी २० जिल्लामा काठमाडौं, काभ्रे, डोल्पा, रसुवा लगायत केही जिल्लाबाहेक अधिकांश तराईका जिल्ला रहेका छन् ।

गाउँ/नगर अधिवेशन भदौ २७ गते गर्ने कार्यतालिका भएकोले बाँकी जिल्लाहरूमा वडा अधिवेशन गर्न चुनौती थपिंदै गएको छ । गाउँ/नगर अधिवेशनका लागि मतदाता रहने क्षेत्रीय प्रतिनिधि वडाबाटै चुनिएर आउनुपर्छ । क्रियाशील सदस्य विवाद अझै समाधान नभएका कारण सदस्यको सूची सार्वजनिक गर्न ढिलाइ भइरहेको हो ।

‘निर्वाचन समितिले आज सोमबारसम्म क्रियाशील सदस्यको सूची पाएमा पनि २७ गतेअगावै सबै जिल्लामा वडा अधिवेशन गर्न सक्छौं’ निर्वाचन समितिका संयोजक यादव भन्नुहुन्छ – ‘चार÷पाँच दिनको समय भयो भने हामीले वडा अधिवेशन गर्न सक्ने गरी आन्तरिक तयारी गरेका छौं । कांग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले पनि २७ गते हुने गाउँ/नगर अधिवेशनअगावै वडा अधिवेशन सम्पन्न गर्न क्रियाशील सदस्यतासम्बन्धी विवादबारे पार्टीभित्र छलफल चलिरहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्