छत्रपाटी निःशुल्क चिकित्सालयमा डिजिटल मेसिनबाट सेवा



काठमाडौं, (नेस) ।

काठमाडौं महानगरपालिका–१७ मा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक डिजिटल मेसिनबाट सेवा दिने भएको छ ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले आइतबार चिकित्सालयमा उक्त एक्सरे मेसिनको उद्घाटन गर्नुभयो । डा. कोइरालाले नयाँ डिजिटल प्रणालीले स्वास्थ्य उपचारमा थप सहज र व्यवस्थित हुने बताउनुभयो । चिकित्सकले पनि यो मेसिनको प्रयोगले आफूले त्रुटि गरे नगरेको अध्ययन गर्न पाउने उहाँको भनाइ थियो । उहाँले समुदायसँग जोडिएको यस किसिमको चिकित्सालय उदाहरणीय भएकामा जोड दिनुभयो ।

चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अन्य ठूला अस्पतालले हालै प्रयोग गर्न थालेको यस मेसिन आफ्नो चिकित्सालयले पनि प्रयोग गर्न सक्षम भएकोमा खुशी व्यक्त गर्नुभयो । सामुदायिक अस्पतालमध्ये छत्रपाटी निःशुल्क चिकित्सालयले पहिलो डिजिटल एक्सरे मेसिन प्रयोग गरेको हो । ‘अहिले कोभिडको समयमा हामीले यो अत्याधुनिक प्रणालीलाई जोड दिँदै विशेष प्राथमिकतामा राखेका हौं । यस दौडान अस्पताललाई नयाँ स्वास्थ्य सामग्री थप गरी वार्डहरू थप गर्नसमेत सक्षम भएको छ । दैनिक सय सिलिन्डर क्षमताको अक्सिजन प्लान्टसमेत छिट्टै निर्माण हुन लागेकोमा यसलाई सुखद मान्नुपर्छ’ –डा. श्रेष्ठले भन्नुभयो ।

यसै गरी काठमाडौं महानगरपालिकाको २ करोड ५० लाख सहयोगमा चिकित्सालयको नयाँ भवन बन्ने सो कार्यक्रममा जानकारी दिइएको थियो । नयाँ एक्सरे मेसिन चिनियाँ मेंद्रे कम्पनीले निर्माण गरेको हो । मेंद्रे कम्पनीले यसअघि २ वटा यस्तै एनेस्थेसिया मेसिनलगायत स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्