तनहुँका ८४ वडामा सकियो अधिवेशन



तनहुँ, (नेस) ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेसन अझैसम्म पनि सकिएको छैन । जिल्लाका ८५ वडामध्ये हालसम्म ८४ वडामा अधिवेशन सकिएको नेपाली कांग्रेस तनहुँले जनाएको छ । एक वडामा भने विवादका कारण हालसम्म पनि अधिवेशन हुन सकेको छैन ।

आइतबारसम्म ८४ वडाको अधिवेशन सकिएको नेपाली कांग्रेस तनहुँका सचिव विश्व बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार र शनिबार गरी दुई दिनमा ६९ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने १५ वडामा सर्वसम्मतमा हुन नसकेपछि मतदानबाट नेतृत्व चयन गरिएको छ ।

जिल्लाका चार वडामा महिलाले नेतृत्व गर्ने भएका छन् । व्यास नगरपालिका– १४, बन्दीपुर गाउँपालिका–५, ऋषिङ गाउँपालिका–१ र आँबुखैरेनी गाउँपालिका–६ नम्बर वडाको नेतृत्व महिलाले पाएका छन् । घिरिङ गाउँपालिका–१ मा सभापति पदमा सहमति जुट्न नसकेपछि मतदानबाट नेतृत्व चयन गरिएको कांग्रेस तनहुँले जनाएको छ ।

अब नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको क्रियाशील सदस्यता रहेको शुक्लागण्डकी नगरपालिका–८ मा मात्रै नेतृत्व चयन गर्न बाँकी छ । वडामा सभापति पदमा गुटगत विवादले गर्दा अधिवेशन हुन नसकेको हो । उक्त वडाको विवाद समाधान गरी वडा अधिवेशनको समयावधिभित्र नै सभापति चयन गरिने नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिनुभयो ।

‘अधिवेशन गर्ने सहमति भएको छ, १/२ दिनमा मतदान प्रक्रियाबाट नेतृत्व चयन हुनेछ ।’ –आलेले भन्नुभयो । गुटगत विवाद उत्कर्षमा पुग्दा वडामा मतदान प्रक्रिया शुरु हुनुअगावै निर्वाचन सामग्री जफत गरी स्थगित गरिएको थियो ।

वडा सभापतिबाट पछाडि हटेका ऋषिराम महतले उक्त सामग्री जफत गर्नुभएको थियो । महत पछाडि हटेपछि सभापति पदमा नेता पौडेल पक्षका विपेन्द्र सेन ठकुरी मात्रै एक्ला उम्मेदार थिए । तर, अन्य पदमा विवाद आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्