स्याङ्जाका सवै वडाको अधिवेशन सम्पन्न



नेपाल समाचारपत्र, स्याङ्जा ।

स्याङ्जा जिल्लामा कांग्रेसको ९७ वटै वडामा भदौ १८, १९ र २० गते गरी वडा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न वडा अधिवेशनबाट हरेक वडाहरुमा वडा समिति, पालिका सदस्य र क्षेत्रीय प्रतिनीधि चुनिएका छन् । स्याङ्जाका ११ पालिकामा ९७ वटा वडाहरु रहेका छन् । तिनै ९७ वडाबाट चुनिएर आएका क्षेत्रीय प्रतिनीधिहरुले नै पालिका, क्षेत्र, जिल्ला, प्रदेश तथा केन्द्रमा नेतृत्व चयन गर्नेछन् ।

यसअघि भएको १३औं महाधिवेशनमा स्याङ्जाबाट ९ हजार ७ सय ८ जना क्रियाशील सदस्य रहेकोमा १४औं महाधिवेशनमा आइपुग्दा १० हजार १ सय २८ नयाँ क्रियाशील सदस्य थपिएर १९ हजार ८ सय ३६ क्रियाशील सदस्य पुगेको कार्यवाहक जिल्ला सभापति कुमाररानाले बताउनुभयो ।

वडा अधिवेशनबाट जिल्लाभर २ हजार १ सय ३७ क्षेत्रीय प्रतिनीधि तथा ९७ वडाका वडा सभापति पदेन क्षत्रीय प्रतिनिधि गरी २ हजार २ सय ३४ जना प्रतिनिधि चयन भएका छन् । जसले नगर, संघीय क्षेत्र, प्रदेश तथा जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्व चुन्नेछ । यस जिल्लाबाट ६४ जना प्रदेश महाधिवेशन प्रतिनिधि, २५ जना महाधिवेशन प्रतिनिधि र १४ जना महासमिति सदस्य चयन हुनेछन् ।

देशको सबैभन्दा पुरानो दल महाधिवेशनमा केन्द्रित हुँदा त्यसको प्रभाव जताततै परेको छ । पार्टीको महाधिवेशनले संगठनलाई मजबुत बनाउन सहयोग पुग्ने कांग्रेस स्याङ्जाका कावा सभापति राना बताउनुहुन्छ । कांग्रेसको कुनै पनि तहको अधिवेशनको क्रियाकलापले कहींकतै प्रभाव नपार्ने गरी र हतार नहुने गरी कार्यतालिका तयार भएको उहाँको भनाइ छ । क्रियाशील सदस्यता सम्बन्धमा जिल्लामा खासै विवाद नदेखिएको भए तापनि क्षेत्रीय प्रतिनीधि चयनमा भने धेरै वडामा चुनाव भएको छ ।

नेपाली कांग्रेसमा महाधिवेशनको मिति घोषणासँगै भित्रभित्रै भावि जिल्ला नेतृत्वको दाबेदारी पनि शुरु हुन थालेको छ । जिल्ला नेतृत्वमा संविधानसभा सदस्य राजु थापा, भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनाल, वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी र कावा सभापति कुमार राना आकांक्षी देखिनुभएको छ ।

हालैमात्र सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेस पार्टीको १४औं महाधिवेशनअन्तर्गत यही भदौ १८ गतेदेखि वडा अधिवेशन शुरु भएको हो । पदावधि गत वर्ष नै सकिएको भए तापनि विधानअनुसार एक वर्ष थपिएको पार्टीको निर्वाचित केन्द्रीय कार्यसमितिको म्याद सकिन लागेपछि अन्तिम क्षणमा आएर कांग्रेसले हतार–हतार महाधिवेशन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्