विधिवत गौरा विर्सजन



डोटी, (नेस) ।

सुदूरपश्चिमेलीहरुको महत्वपूर्ण तथा ठूलो पर्व गौरा डोटीसहितका अन्य जिल्लामा विधिवतरूपमा विर्सजन गरिएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि शुरु भएको उक्त गौरा पर्व विधिवत विर्सजन गरिएको हो ।

जोरायल गाउँपालिका–५ की धर्मादेवी विष्टले विधिवतरूपमा गौरा विसर्जन गरेको बताउँदै भन्नुभयो– ‘ उहाँको गड्सेरा, जोरायल, वाइल, दिपायल, मुडभारा, बर्छैनलगायतका ठाउँमा बढी गौरा मनाइन्छ ।’ पञ्चमीदेखि एक वा डेढ सातासम्म देवीपुजन सँगै देउडा खेलेर यहाँ गौरा पर्व मनाइने गरिए पनि यो वर्ष कोरोना भाइरसले खासै रौनकता नभएकाले छिट्टै विसर्जन गरिएको पण्डित डिल्लीराज जोशीले बताउनुभयो ।

‘कोरोनाले यो वर्ष खासै गौरामा रौनकता भएन र हामीले भीडभाड पनि गरेनौं, यो वर्ष कोरोनाको डरले हामीले चाँडै विर्सजन ग¥यौं ।’ –उहाँको भनाइ छ । गौरा पर्वमा बढी भीडभाड नगर्न तथा समूह बनायर डेउडा नखेल्न स्थानीय प्रशासनले आग्रह गरेका कारण पनि गौरा पर्व चाँडै विर्सजन गरेको पण्डितहरू बताउँछन् ।

कतिपय ग्रामीण भेगमा भने स्थानीय प्रशासनको नियमको उल्लंघन गरेर ठाउँ–ठाउँमा भव्य पूजाआजा र देउडा खेलेर गौरा पर्वको विर्सजन गरिएका छन् । सुदूरपश्चिमका नौ जिल्लाका विभिन्न क्षेत्रमा आ–आफ्नै धार्मिक तथा सांंस्कृतिक मान्यताअनुरुप फरक–फरक दिन पारेर गौरा पर्वको समापन गर्ने गरिन्छ । सुदूरपश्चिममा स्थानीय देवी–देवताका गाथा, महाभारत, रामायणलगायत धार्मिक ग्रन्थमा आधारित कथा गाउँदै गौरा पर्वको समापन गर्ने चलन रहेको अर्का स्थानीय तथा पण्डित मेखराज भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्