शेयर धितो कर्जाको सीमाले लगानीलाई असर गर्दैन: गभर्नर



काठमाडौं, (नेस) ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् शेयर धितो कर्जामा लगाइएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने शेयर धितो कर्जा प्रभावित नहुने बताउनुभएको छ । नेपाल उद्योग परिसंघद्वरा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले शेयर धितोमा ऋण लिई शेयर बजारमा नै लगानी गर्नेलाई लक्षित गर्दै यो नीति लिइएको बताउनुभयो ।

‘व्यावसायिक उद्देश्यले लिइने यस प्रकारको कर्जालाई मौद्रिक नीतिमा तोकिएको सीमाले असर गर्दैन,’ उहाँले भन्नुभयो–‘व्यावसायिक प्रयोजनका लागि लिइने कर्जामा हाम्रो सरोकार होइन । तर, वित्तीय क्षेत्रमा उपलब्ध स्रोत औद्योगिक क्षेत्रमा सदुपयोग होस् भन्ने मात्रै हाम्रो चाहना हो ।’

गभर्नर अधिकारीले राष्ट्रिय उत्पादन वृद्धिमा केन्द्रीय बैंकको चासो रहने उल्लेख गर्नुहुँदै औद्योगीकरण र रोजगारी सिर्जनाका क्षेत्रमा राष्ट्र बैंकले सधैं सहयोग गर्ने बताउनुयभो । राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम् ४ करोड रूपियाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम् १२ करोड रूपियाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो ।

अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकले विभिन्न सुधारका काम अघि बढाएको भन्दै त्यसैअनुसार कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुभयो । उहाँले बैंकिङ क्षेत्रलाई विशुद्ध बैंकिङमा लगाउने नीति केन्द्रीय बैंकले लिएको बताउनुभयो ।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउन र पुनरूत्थान गर्न राष्ट्र बैंकले गत वर्ष लिएका नीतिले प्रभावकारी काम गरेको उल्लेख गर्नुभयो । उहाँले तरलताको उपलब्धता र ब्याजदर चिन्ताको विषयको रुपमा रहेको भन्नु हुँदै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो । परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले अब डिजिटल बैंकिङतर्फ अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । परिसंघका बैंकिङ समितिका सभापति अनलराज भट्टराईले परिसंघको तर्फबाट प्रस्तुति गर्दै केन्द्रीय बैंकले लिएका नीतिले अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग गरिरहेको बताउनुयभो ।

प्रतिक्रिया दिनुहोस्