२५ जनप्रतिनिधि एकीकृत समाजवादीमा



हेटौंडा, (नेस) ।

नेकपा एमालेका २५ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । मकवानपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको पार्टी रोजेका हुन् ।

चुनाव जितेका हेटौंडा उपमहानगर उपमेयर मीना लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टसहित २५ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । हेटौंडा–१३ अध्यक्ष मनोज वाइबा, थाहा नगरपालिकाका वडा–११ का अध्यक्ष किरणमान बलसहितले पनि सनाखत गर्नुभएको छ ।

बिहीबार मकवानपुरका १० स्थानीय तहका ती जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जानकारी दिएको छ । नेकपा एमाले आधिकारिकरूपमा विभाजन भएपछि भदौ २२ गतेसम्म नवगठित पार्टीमा सनाखतका लागि समयसीमा दिइएको छ ।

नेकपा एमालेकी वागमती प्रदेशसभा सदस्य मीना ज्ञवाली नेकपा (एकीकृत समाजवादी) तर्फ लाग्नुभएको छ । यसअघि अन्य सांसदसँगै स्वास्थ्य समस्याका कारण सनाखत गर्न नसकेको भन्दै शुक्रबार निर्वाचन कार्यालय वागमती प्रदेशको कार्यालय हेटौंडामा उहाँले सनाखत गर्नुभएको हो । ज्ञवालीले नेकपा एमाले छाडेसँगै वागमती प्रदेशसभा एमालेका १३ सदस्य समाजवादीमा खुलेका छन् ।

वागमती प्रदेशमा नेकपा एमालेबाट ५६ सांसद थिए । अझै केही प्रदेशसभा सदस्य समाजवादीमा आउने समाजवादी नेतृ मुनु सिग्देलले बताउनुभयो । ५६ एमाले सांसदमध्ये २३ जना नेपाल पक्षका रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्