मुगुका खाद्य संस्थान तथा व्यापार कम्पनी रित्तै



वीरबहादुर बम, मुगु । 

हिमाली जिल्ला मुगुका सबै डिपो कार्यालय रित्तिएका छन् । जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनीका सबै डिपो तथा बिक्री केन्द्रहरु रित्तिएका हुन् । यो वर्षको दशैंसम्म मुगुमा खाद्यन्न अभाव हुने देखिएको छ ।

जिल्लामा रहेका पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपो केन्द्र रातापानी बिक्री केन्द्र र कालै बिक्री केन्द्र गरी ५ वटा डिपो तथा बिक्री केन्द्र असारदेखि रित्तै छन् । डिपो केन्द्रहरुमा खाद्यान्न ढुवानीका लागि ठेक्का प्रक्रिया भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले जनाएको छ ।

डिपो केन्द्रबाट वितरण भइरहेको चामल सकिएर डिपो कार्यालय रित्तै भएको खाद्य संस्थान शाखा कार्यालयका सूचना अधिकारी पुष्कर भामले बताउनुभयो । शाखा कार्यालय गमगढी बजारमा अहिले १ हजार क्विन्टल चामल मौज्दात छ । डिपो केन्द्रहरुमा चामल सकिएपछि शाखा कार्यालय मुगुमा चामल लिने सेवाग्राहीको दैनिक भीड लाग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

‘आवश्यकताअनुसार चामल पु¥याउन सकिएको छैन । दशैं पनि नजिकिँदै छ, दशैंसम्म चामल पुग्छ कि पुग्दैन भन्ने चिन्ता लागेको छ’, भाम भन्नुहुन्छ– ‘शाखा कार्यालयमा चामलको मौज्दात थोरै भएकाले प्रतिव्यक्ति एक प्याकमात्र वितरण भइरहेको छ ।’ अहिले दैनिकरूपमा १ सयदेखि २ सय जनासम्म सदरमुकामलगायत अन्य स्थानबाट चामल लिन आउने गरेको उहाँको भनाइ छ ।

शाखा कार्यालयमा चामल पनि प्रयाप्त नहुँदा तथा डिपो केन्द्रहरु पनि रित्तिएलगत्तै स्थानीयहरु बजारको चर्को मूल्यको चामल खान बाध्य छन् ।

‘बजारमा आएको चामल एक प्याकेटलाई १५ सयदेखि २ हजारसम्म पर्छ’, बजारमा कोठा भाडामा लिएर बस्दै आएकी सोरु गाउँपालिका–८ की मुनदेवी शाही भन्नुहुन्छ– ‘खाद्य संस्थानको भन्दा बजारको चामल निकै महँगो छ ।’

छिमेकी जिल्ला बाजुरामा पनि खाद्य डिपोलगायत शाखाहरु रित्तो बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्