विभाजनपछि एमालेको पहिलो कार्यकर्ता भेला



नेपाल समाचारपत्र, काभ्रे ।

पार्टी विभाजन भएपछि नेकपा एमाले काभ्रेले पहिलोपटक कार्यकर्ता भेला शनिबार काभ्रेमा गरेको छ । लामो समयपछि भएको भेलामा जिल्लाका विभिन्न स्थानबाट कार्यकर्ता सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै नेता टोपबहादुर रायमाझीले अध्यादेश, परमादेश र जनादेश के सही के गलत हो भन्ने कुरा छुट्याउने बेला आएको बताउनुभएको थियो । केपी शर्मा ओलीको नेतृत्वमा विकास र समृद्धिको एजेन्डा परिवर्तन भएको उहाँले दाबी गर्नुभयो । विकास र समृद्धिबाट मात्र देशमा परिवर्तन सम्भव छ भनेर नै केपी ओलीको नेतृत्वमा विकासको अभियान अघि बढेको उहाँको तर्क थियो । कसैलाई प्रधानमन्त्री र कसैलाई पार्टी अध्यक्ष चाहिएर नेकपा विभाजित भएको उहाँले तर्क छ । ‘राष्ट्र र जनतलाई केन्द्रमा राखेर पार्टी एकता नगरेका साथीहरु पार्टी विभाजनतर्फ लाग्नुभयो र पार्टी विभाजन गरेर छाड्नुभयो ।’ –उहाँले भन्नुभयो ।

माधव नेपाललगायतका नेताले राजनीतिमा दुनियाँमा नै नभएको अपराध गरेको उहाँको आरोप छ । प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाएर हिँड्ने जस्तो निकृष्टता अरू केही हुनै नसक्ने रायमाझीको तर्क छ । ‘आफू सिद्धिएँ भन्ने थाहा छैन, प्रधानमन्त्री बनाइयो भनेर दंग हुनुहन्छ ।’ –नेपाललाई कटाक्ष गर्दै उहाँले भन्नुभयो । पुँजीवादका नाइकेलाई नेता बनाएर हिँड्नेहरु समाजवादमा पुग्न नसक्ने रायमाझी बताउनुहुन्छ । प्रचण्डले पुँजीवादका नाइकेलाई बोकेर हिँडेका कारण आफूहरुले माओवादी छाड्नुपरेको रायमाझीले बताउनुभयो । आफूहरुले सर्वोच्च अदालतको फैसलालाई चुनौती दिएको पनि उहाँको भनाइ छ । ‘सर्वोच्चले एमाले जति एमालेमा जाऊ, माओवादी जति माओवादीमा जाऊ भन्यो, हामीले मानेनौं, हामी राजनीतिकरूपमा नेकपामा नै बस्यौं, कानुनीरूपमा एमाले भयौं ।’ –रायमाझीले भन्नुभयो ।

त्यस्तै, भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री गोकुल बाँस्कोटाले काभ्रेको विकासमा नेकपा एमाले बादशाह भएको बताउनुभयो । समृद्ध काभ्रेको योजनामा बजेट विनियोजन गरी दुरगामी प्रभाव पार्ने खालका योजनाहरु शुरु भएको उहाँको भानाइ छ । ‘केही दिनअघि एमालेबाट

विभाजन भएका नेताहरुले एमालेमा रहेर केही गर्न नसकेको आरोप लगाए’, बाँस्कोटाले भन्नुभयो– ‘जीवनभर पार्टीमा रहेर पद लिएकाहरु मात्रै एमालेको विभाजनमा सहभागी भएका छन् ।’

अध्यक्ष अशोक ब्याञ्जुले जिल्लाका सबै पालिका र वडाहरुमा पार्टी काम शुरु भएको र संगठित सदस्य नवीकरण भइरहेको कार्यक्रममा जनाउनुभयो ।

एमालेको भेलालाई महासचिव ईश्वर पोखरेलसहितका दर्जन नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्