१७ प्रतिशत होटल बन्द



काठमाडौं, (नेस) ।

कोभिडका कारण १७ प्रतिशत होटल बन्द भएको सरोकारवाहरूको दाबी छ । साथै पर्यटन उद्योगमा आबद्ध १० लाखभन्दा धेरै श्रमिकको रोजगारी जोखिममा परेको उनीहरूले जनाएका छन् । नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका आयोजित छलफलमा सरकारवालाले सो जानकारी दिएका हुन् ।

छलफलका क्रममा व्यवसायीहरूले कोभिड–१९ को संक्रमण बढेसँगै विकसित मुलुकहरूले नेपाललाई नकारात्मक सूचीमा सूचीकरण गरेकाले पर्यटक आगमन ठप्प रहेको उल्लेख गरेका छन् । उनीहरूले देशव्यापीरूपमा कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएर नेपाललाई भ्रमणका लागि सुरक्षित गन्तव्यको पहिचान दिन सरकारले काम गर्नुपर्ने बताएका छन् ।

पर्यटन क्षेत्रसँग सम्बन्धित १७ वटा संघ/संस्थाका प्रतिनिधि सम्मिलित छलफलमा उनीहरूले पर्यटन उद्योगको पुनरूत्थानमा सरकारले विशेष जोड दिनुपर्ने पनि बताएका छन् । व्यवसायीहरूले पुनरूत्थानका लागि बिना धितो ऋण र कर पुनर्कर्जाको सुविधा सम्पूर्ण व्यवसायीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरेका छन् ।

यसैगरी पीसीआर रिपोर्टमा नेगेटिभ उल्लेख भएका र भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका पर्यटकलाई क्वारेन्टाइनमा राख्नु नपर्ने व्यवस्था गर्न पनि माग गरेका छन् । सरकारले पर्यटन क्षेत्रलाई कोभिडको अति प्रभावित क्षेत्रको सूचीमा सूचीकरण गरेको भए पनि आफूहरूले घोषणाअनुसारको सुविधा प्राप्त नगरेको उनीहरूको गुनासो छ। कार्यक्रममा परिसंघका उपाध्यक्ष राजबहादुर शाहले व्यवसायीका प्रत्येक समस्या समाधानका लागि परिसंघ अग्रस्थानमा रहेर काम गर्ने बताउनुभयो । ‘हामी तपाईंहरूसँग छौं, जति पनि समस्या छन् तिनीहरूको समाधानका लागि पहल गर्छौं,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्