मुगुको सोरु गाउँपालिकाको बजेट पेस हुन सकेन



वीरबहादुर बम, मुगु

जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको बजेट अझैसम्म बजेट पेस हुनसकेको छैन । चालु आर्थिक वर्षको बजेट पेस नहुँदा सेवा प्रवाह र विकास निर्माणका काम अन्योलमा परेको छ ।

गत असार २० मा आठौं गाउँसभा उद्घाटनका क्रममा जनप्रतिनिधिबीच विवाद भएपछि गाउँसभा अन्योल भई हालसम्म बजेट पेस हुन नसकेको हो ।

विवादका कारण स्थगित भएको गाउँसभा कहिले बस्ने अझै निश्चित छैन । बजेट बाँडफाँट नहुँदा वडादेखि गाउँपालिका स्तरमा छनोट भएका दर्जनौं योजनाले गति लिन सकेका छैनन् ।

असार मसान्तपछि अहिले जनप्रतिनिधि र केही कर्मचारी कार्यालयविहीन भएका छन् भने केही कर्मचारी जिल्ला बाहिर गएका छन् ।
स्थानीय तह सञ्चालन ऐनअनुसार असार १५ भित्र गाउँसभा सञ्चालन गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिसक्नुपर्ने व्यवस्था छ ।

तर, सोरु गाउँपालिकाले तोकिएकै मितिमा गाउँसभा सञ्चालन नगर्दा बजेट पेस हुन सकेको छैन ।बजेट पेस नहुँदा वडास्तरमा छनोट भएका योजना अघि बढाउन समस्या भएको वडा नम्बर ८ का वडाअध्यक्ष जनक रावलले बताउनुभयो ।

जिल्लाका मुगु मकार्मारोङ, खत्याड गाउँपालिका र छायानाथ रारा नगरपालिकाले भने चालु आर्थिक वर्षको बजेट पास गरी योजना सम्झौताको काम शुरू गरेका छन् ।

विभिन्न कारणले बजेट बाँडफाँटमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताउनुभयो । केही जनप्रतिनिधि पनि जिल्ला बाहिर हुनुहुन्छ’, अध्यक्ष शाहीले भन्नुभयो– ‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि गाउँसभाको आयोजना गरी बजेट पेस गरिनेछ ।’

सोरुमा ४ वर्षको अवधिमा ५ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । राजनीतिक खिचातानीले गाउँपालिकामा हरेक वर्ष प्रशासकीय अधिकृत फेरबदल हुँदा दैनिक, प्रशासनिक र विकास निर्माणका योजना प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्