कांग्रेस रूपन्देहीमा सर्वसम्मत नेतृत्व चयन प्रयास जारी



यमलाल भुसाल, बुटवल ।

नेपाली कांग्रेस रूपन्देहीले पार्टीको १४ औं महाधिवेशनको तयारी तीव्र बनाएको छ जनाएको छ । यही भाद्र १८ गते वडा अधिवेशनबाट पार्टी अविधेशनमा जुटेको हो ।

कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले जिल्लामा सर्वसम्मत नेतृत्व चयनको अधिकतम प्रयत्न भइरहेको बताउनुभयो । अधिवेशन गर्न परे सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालन गरेर नै अधिवेशन सम्पन्न गरिने उहाँले बताउनुभयो । रज्जाकले वडा तहमा खटिने निर्वाचनकर्मीहरूलाई सहयोग गर्न आग्रह गर्नुभयो । वडा तह बलियो भएमा पार्टी बलियो हुने हुँदा विवादरहित तवरले अधिवेशन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

केन्द्रले जिल्लास्तरको निर्वाचन सम्पन्न गर्न रूपन्देहीमा प्रमुख निर्वाचन अधिकृत खटाएको छ । रूपन्देहीमा निर्वाचन सम्पन्न गराउन भेषराज घिमिरे खटिनुभएको छ । अधिवेशनको तयारी, निर्वाचन निर्देशिका तथा कार्यविधिबारे कांग्रेस रूपन्देहीले बुधबार पार्टी कार्यालय भैरहवामा जिल्लाका १ सय ५५ वडा सभापति, पालिका, क्षेत्रीय सभापतिहरूलाई प्रशिक्षण दिएको छ । रूपन्देहीका १ सय ५५ वडा समितिहरूमा विहिवारदेखी नै १ सय ५५ जना निर्वाचन अधिकृतहरू खटिदै छन् ।

रूपन्देहीमा महाधिवेशनक लागि केन्द्रिबाट खटिएका निर्वाचन अधिकृत भेषराज घिमिरेले निर्वाचन समिति अधिवेशनको लागि तयारिमा लागेको र बिहिबार सम्ममा सबै वडाहरूमा निर्वाचन अधिकृत खटाइने बताउनुभयो । निर्वाचन समितिले स्थानीय स्तरमा सहकार्य गरी अधिवेशन गरिने र १८ गते सम्पन्न हुन नसकेका स्थानमा सहमतिमा अर्को दिन पनि निर्वाचन हुन सक्ने बताउनुभयो । रूपन्देहीमा १ सय ५५ वडामा करिब २३ हजार कांग्रेसका क्रियाशील सदस्य रहेका छन् । वडा तहका निर्वाचनमा वडा समितिसँगै नगर÷गाउँ, क्षेत्र, जिल्ला कार्यसमितिमा प्रतिनिधित्व चयन गर्ने गरी क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्