सरकारद्वारा एक वर्षमा ३७ अर्ब ऋण भुक्तानी



नेपाल समाचारपत्र, काठमाडौं ।

आर्थिक वर्ष २०७७/७८ मा सरकारले २२४ अर्ब १ करोड आन्तरिक ऋण परिचालन गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा ३६ अर्ब ९० करोड रुपियाँ साँवा भुक्तानी समेत गरेको छ ।

एक वर्षमा सरकारले १८७ अर्ब ११ करोड खुद आन्तरिक ऋण परिचालन गरेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको ४ दशमलव ४ प्रतिशत रहेको छ । यस अवधिमा सरकारले १२७ अर्ब १८ करोड बाह्य ऋण परिचालन गरेको छ ।

असार मसान्तसम्म सरकारको कुल तिर्न बाँकी बाह्य ऋण ९२७ अर्ब ९३ करोड र आन्तरिक ऋण ८०० अर्ब ३२ करोड गरी १७ खर्ब २८ अर्ब २५ करोड रुपियाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४० दशमलव ५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३६ दशमलव ५ प्रतिशत रहेको

असार मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १९४ अर्ब ७० करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारको बैंकिङ कारोबारमा आधारित कुल खर्च १८८ अर्ब ७५ करोड रहेको छ । समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति १५९ अर्ब ९५ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी रु.११८ अर्ब ५९ करोड हस्तान्तरण गरेको छ ।

यसै गरी यस अवधिमा प्रदेश सरकारले राजस्व र अन्य स्रोतबाट ४१ अर्ब ३६ करोड परिचालन गरेका छन्। आर्थिक वर्ष २०७८र७९ का लागि विभिन्न प्रदेश सरकारहरुले कुलमा २६१ अर्ब ८७ करोडको बजेट प्रस्तुत गरेका छन्। उक्त बजेटको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५ दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष प्रदेश सरकारले २६४ अर्ब २१ करोडको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्