शोधनान्तर स्थितिमा उच्च गिरावट 



काठमाडौं, (नेस) ।
देशको शोधनान्तर स्थितिमा उच्च गिरावट आएकको छ । आर्थिक वर्ष २०७७/७८ मा शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोडले बचतमा रहेकोे नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा देशको चालू खाता ३३३ अर्ब ६७ करोड रुपियाँले घाटामा रहेको छ ।
अघिल्लो वर्ष चालू खाता ३३ अर्ब ७६ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालू खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा पुँजीगत ट्रान्सफर ७ दशमलव ४ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी शून्य दशमलव २ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १४ अर्ब २१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ४८ करोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्