एक महिना नपुग्दै भत्कियो पर्खाल



सर्लाही, (नेस) ।

निर्माणकार्य सकिएको एक महिना नपुग्दै बरहथवा नगरपालिका–२ हजियामा निर्माण भएको शहीदपार्कको पर्खाल भत्किएको छ । विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका नगरभित्रका शहीदहरूको सम्झनामा शहीदपार्क निर्माण गरिँदै थियो ।

निर्माण भएको पार्कको पर्खालमा उपभोक्ता समितिले कमसल र गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेका कारण पर्खाल भत्किएको स्थानीयबासी हीरालाल परियारले बताउनुभयो । पर्खाल निर्माण गरिएको एक महिना नपुग्दै जगैदेखि भत्किएकाले पुनर्निर्माण गर्नुपर्ने स्थानीयको माग छ । पर्खाल निर्माण गरिएको एक महिनाभित्रमा भत्किएकाले पुनर्निर्माण गरिने उपभोक्त समितिका अध्यक्ष पौडेलले बताउनुभयो । खोलाको छेउबाटै पर्खाल लगाउनुपर्ने स्थानीयवासीले माग गरेकाले वर्षाका कारण पर्खाल भासिएर लडेको उहाँले दाबी गर्नुभयो ।

बरहथवा नगरपालिका–२ का वडाध्यक्ष यज्ञबहादुर खड्काले निर्माणका लागि छुट्याइएको रकम वडाको नभएको र वडासँग कुनै समन्वयन गरी काम भएकाले त्यसबारे आफूलाई कुनै जानकारी नरहेको बताउनुभयो ।

बरहथवा नगरपालिकाले शहीदपार्क निर्माण गर्न आर्थिक वर्ष २०७७/०७८ को आन्तरिक स्रोतबाट ३३ लाख बजेट छुट्टयाएको योजना शाखाका प्रमुख कमलप्रसाद पौडेलले जानकारी दिनुभयो । साविक हजरिया खेलमैदान नजिक शहीदपार्क निर्माण गर्न वैशाखको अन्तिम साता आशिष पौडेलको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको र असारको अन्तिम साता काम सम्पन्न भएको प्रतिवेदन उपभोक्ता समितिले नगरपालिकालाई दिएको थियो ।

कार्य सम्पन्न भएको प्रतिवेदनको आधारमा नगरपालिकाले उपभोक्ता समितिलाई असार मसान्तमा ३३ लाख रुपियाँ भुक्तानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्