नेपालगञ्जमा पहिलोपटक गाईजात्रा



बाँके, (नेस) ।

नेपालगञ्जमा पहिलोपटक नेवार समुदायले सामुहिकरूपमा गाईजात्रा मनाएका छन् । ‘भाषा, संस्कृति र परम्पराको जगेर्ना गरौं’ भन्ने मूल नाराका साथ नेवा पुचः, बाँके र नेवाः देय्ः दबु, बाँकेको आयोजनामा तामझामका साथ गाईजात्रा गरिएको हो ।

नेवा पुचः, बाँकेका पार्षद् पूर्णलाल चुकेका अनुसार घर–घरबाट व्यक्तिहरु बागेश्वरी मन्दिरमा आएर संस्कार पूरा गर्थे । यसपालीबाट सामूहिकरूपमा गाईजात्रा मनाउन शुरु गरिएको हो ।’ गाईजात्रा दिवंगत आफन्तीको सम्झना मनाउने गरिन्छ ।

नेपालगञ्जको धम्बोझीचोकबाट झाँकी, बाजागाजासहित शुरु भएको गाईजात्रा सेतुविकचोक, त्रिवेणीमोड, घरबारीटोल हुँदै बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कमा पुगेको थियो ।

बाँकेमा रहेका ६ वटा गुठीका प्रतिनिधि गाईजात्रामा सहभागी थिए । नेवा पुचः, बाँकेका अध्यक्ष नन्दकला श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, जितेन्द्र जोशी, विवेक श्रेष्ठले गाईजात्रालाई आगामी दिनमा पर्वका रूपमा अघि बढाउने बताउनुभयो । ‘हामी गाईजात्रालाई एउटा पर्वका रूपमा विकास गर्ने सोचमा छौं, उद्योगी नेतासमेत रहेका कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो– ‘पर्वका रूपमा मनाइयो भने यो कुनै जाति विशेष चाड रहँदैन ।’

राजा प्रताप मल्लले छोराको मृत्युपछि शोकमा रहेकी रानीलाई खुसी बनाउनका लागि गाईजात्राको शुरुआत गरेको जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्