राप्तीसोनारीका कोरोनापीडितलाई एक लाख



बाँके, (नेस) ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई १ लाख रुपियाँ दिने भएको छ । गाउँपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

‘कोरोनाबाट दर्जनबढी व्यक्तिको गाउँपालिकामा मृत्यु भएको छ । मृतकलाई घरपरिवारलाई एक÷एक लाख रुपियाँ दिँदा उनीहरुलाई ठूलो राहत पुग्ने विश्वास गरेका छौं ।’ – गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले भन्नुभयो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार बाँकेमा कोरोनाबाट ३ सय २७ जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिकामा १३ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा १ सय ५४ जना, कोहलपुर नगरपालिकामा ७३ जना खजुरा गाउँपालिकामा ४० जना, बैजनाथ गाउँपालिकामा २९ जना, जानकी गाउँपालिकामा ९ जना, नरैनापुर गाउँपालिकामा ५ जना र डुडुवा गाउँपालिकामा चार जनाको मृत्यु भएको छ ।

कोरोनाको पहिलो र दोस्रो लहरमै बाँके जिल्ला हटस्पट बनेको थियो । जिल्लामा अझै पनि संक्रमितको थपिने र मृत्यु हुने क्रम जारी रहेको छ । पछिल्लो दिनमा बाँके जिल्लाको भन्दा बाहिरी जिल्लाबाट उपचार गराउन आएका व्यक्तिको मृत्यु भइरहेको छ ।

त्यस्तै, राप्तीसोनारीको कार्यपालिका बैठकले ऐलानी जग्गाको अभिलेखीकरण गर्न, जोताहलाई परिचय वितरण गर्ने कामका लागि वडा नं. ३ का अध्यक्ष गंगाराम थारुको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । पालिकाले शमशेरगञ्जमा रहेको सर्पदंश उपचार केन्द्रका लागि दुई जना कर्मचारी खटाउने भएको छ ।

त्यसै गरी, गतवर्ष आईई भएकामध्ये झिझिरी र परुवाबाहेक अरू खोलानालाबाट नदीजन्य पदार्थ बिक्रीका लागि टेन्डर आह्वान गर्ने निर्णय भएको छ । पालिकामा रहेका खरको छाना भएका घरको विवरण लिने र त्यसको विवरण जिल्ला समन्वय समिति पठाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्