विद्यालय बन्द गर्न स्थानीयतहलाई पत्राचार



विनोदसिंह विष्ट, बैतडी ।

जिल्ला प्रशासन कार्यालय बैतडीले विद्यालय सञ्चालन नगर्न जिल्लाका स्थानीयतहहरुलाई अनुरोध गरेको छ । प्रशासनले जिल्लाका १० वटै स्थानीयतहलाई पत्राचार गरी विद्यालय सञ्चालन नगर्न अनुरोध गरेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले आफूखुसी विद्यालय सञ्चालन नगर्न आग्रह गरिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । हाल जिल्लाको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विद्यालय सञ्चालनमा रहेका छन् भने जिल्लाका अन्य स्थानीयतहले पनि विद्यालय सञ्चालन गर्ने तयारी गरिरहेकाले प्रशासनले विद्यालय सञ्चालन नगर्न पत्राचार गरेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने खालका कुनै कार्यक्रम नगर्न यसअघि नै सूचना जारी गरिसकेकाले विद्यालय सञ्चालन गर्दा भीडभाड हुने भएकाले महामारीको समयमा सचेतता अपनाउन आग्रहगरिएको भारतीको भनाइ छ । उहाँले भन्नुभयो– ‘कोरोनाको जोखिम अझै कायमै छ, विद्यालय सञ्चालनमा रहेका केही स्थानमा कोरोना देखिन पनि थालेको छ, त्यसैले सम्भावित जोखिम रोक्न विद्यालय बन्द गर्न भनेका हौं ।’

स्थानीय सरकारहरुले पनि जोखिमको पूर्व आँकलन गरेर मात्रै विद्यालय खोल्नका लागि अनुमति दिनुपर्नेमा भारतीको जोड रहेको छ ।

यसै बीच चाडपर्वको समय पनि नजिक आइरहेकाले भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड परिपालनामा समेत लापरबाही नगर्न प्रशासनले आग्रह गरेको हो । भीडभाडले संक्रमणको जोखिम बढ्दै जाने भएकाले त्यसतर्फ सबैले सचेत हुनुपर्नेमा जोड दिइएको छ । महामारी फैलिएमा यसलाई नियन्त्रण गर्न निकै चुनौतीपूर्ण हुने भएकाले यसतर्फ सबै सरोकारवालाहरु गम्भीर बन्न जरुरी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

भारतसँग सीमा जोडिएको बैतडीमा हाल निषेधाज्ञा हटाएर स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्दै सम्पूर्ण सेवा सञ्चालन गर्न दिइएको छ ।

बैतडीमा हालसम्म कोरोनाकै कारण १८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्