हेटौंडामा मनाइयो परम्परागत् गाईजात्रा



हेटौंडा, (नेस) ।

परम्परागत् सांस्कृतिक पर्व गाईजात्रा हेटौंडामा मनाइएको छ । सोमबार विहान हेटौंडा–२ मा रहेको कृष्ण मन्दिरबाट शुरु भएको गाईजात्रा हेटौंडा बजार हुँदै हेटाैडा–१०, बसपार्कमा अन्त्य गरिएको थियो ।

नेवार समुदायले पिपलबोटबाट सुरु भएको जात्रा संगमचोक हुँदै कान्तिराजपथ, बुद्धचोक, सिमाचोक–टीसीएन र सानो भुटनदेवी मन्दिरमा पुगेर गाईजात्रा समापन गरेको नेवाः सांस्कृतिक पुचः अध्यक्ष विष्णुगोपाल महर्जनले बताउनुभयो । नेवारी समुदायले मृत आत्माको चिरशान्तिको कामना गर्दै घरबाट बिभिन्न भेषभुषा धारण गरी पर्व मनाइने गर्दछन् । सोहीअनुरुप हेटौंडामा सामूहिकरुपमा गाईजात्रा मनाइएको नेवाः गुठी खल अध्यक्ष अनिल खड्गेले बताउनुभयो ।ब्लु डायमण्ड सोसाइटीको आयोजनामा सोमबार हेटौंडामा गाईजात्रा विशेष कार्यक्रम आयोजना गरिएको छ । सोसाइटीले ‘राइट हियर–राइट नाउ’ को सहयोगमा हेटौंडा–११ को शहीद स्मारकपरिसरमा गाईजात्रा कार्यक्रम गरेको हो । यस वर्ष कोरोना जोखिमका कारण जिल्लामा कार्यक्रम गरिएको ‘राइट हियर–राइट नाउ’ का कार्यक्रम संयोजक अनुजपिटर राईले जानकारी दिनुभयो ।

इतिहासमा पनि गाईजात्राका समयमा केटा मान्छेसमेत केटी भएर हिँड्ने चलन भएको भन्दै उहाँले आफूहरुको पहिचानसँग पर्व जोडिएको विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा लैंगिक तथा अल्पसंख्यक समुदायका २५ जना सहभागीले प्ले कार्डसहित गाईजात्रा गरेका थिए ।गाईजात्रामा सरकारले देशभर नेवार समुदायलाई बिदा दिए पनि बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा सार्वजानिक बिदा दिएको छ । एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारेर आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्वारा दूध, फलफुल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।तत्कालीन राजा प्रताप मल्लले छोराको निधनले शोकमा रहेकी महारानीलाई खुशी बनाउन यो परम्परा शुरु गरेको इतिहास छ । राजा प्रताप मल्लले शहरमा आफ्ना छोरा जस्तै प्रजाका छोराको निधन भएको भन्दै सान्त्वना दिन शहरमा निधन भएकाहरुको परिवारले सांकेतिकरुपमा झाँकी, प्रहसन गर्दै मजाक गर्दै हसाउँदै शहर परिक्रमा गर्ने परम्परा बसालेका थिए ।

गाईजात्राको दिन घरको मूल ढोकाअगाडि सकेसम्म रातो माटो र गोबर पोतिन्छ । पण्डित बोलाएर श्राद्ध कर्मको विधिविधान पूरा गरिन्छ । त्यसपछि मृतकको नाममा गोदान गरिन्छ । गाईलाई नगर परिक्रमा गराइन्छ ।चार वटा बाँसबाट बनेको प्रतीकात्मक गाईलाई नगर परिक्रमा गर्ने चलन छ । हेटौंडामा कतिपयले बालबालिकालाई कृष्ण–राधा, शिव–पार्वतीको भेषमा घुमाएको देखिन्छ । यस्तो चलन बिभिन्न स्थानमा देखिएको छ । संस्कारमा पेशागत् भिन्नता पनि देखिन्छ । उहिले मृतक पुरुष, महिला वा बच्चा को हो भन्ने बुझाउन संकेत प्रयोग गरिन्थ्यो । मृतक बच्चा हो भने डोकोको गाई बनाएर नगर परिक्रमा गरिन्थ्यो । मृतक महिला भए रातो र नीलो कपडाको प्रयोग हुन्थ्यो ।गाईजात्राको दिन पारेर मनहरीका व्यङ्ग्य लेखक गोविन्द पौडेलले ‘गिलासवाद’ कृति सार्वजनिक गर्नुभएको छ ।

मकवानपुरका वरिष्ठ व्यङ्ग्यलेखक आरसी रिजालको प्रमुख आतिथ्यमा हेटौंडामा भएको कार्यक्रममा व्यङ्ग्यसंग्रह लोकार्पण गरिएको हो । कार्यक्रममा मकवानपुरका पहिलो व्यङ्ग्यकार रामचन्द्र आचार्य (फुर्सती), आरसी रिजाल, निमेष निखिल, लेखक पौडेल, राजकुमार लामिछानेलगायतले पुस्तक र मकवानपुरमा हास्यव्यङ्ग्य लेखनबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।बिभिन्न कालखण्डमा लेखिएका व्यङ्ग्य लेखहरु तथा अप्रकाशित व्यङ्ग्यात्मक निबन्धहरु संकलन गरी ‘गिलासवाद’ कृति तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्