बालिकाको उपचारका लागि सामाजिक सञ्जाल अभियान



मनोज भट्ट, महेन्द्रनगर ।

दुवै मृगौलाले काम नगरेपछि सिकिस्त भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका सविना धामीको उपचारका लागि बाह्रदेव ज्यावन सेवा समाजले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘सविना धामी बचाउ अभियान’ सञ्चालन गरेको छ ।
भीमदत्त नगरपालिका–३ नयाँ तिलकपुरकी सविनाको अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या आएपछि

स्थानीयबाटै ८५ हजार रुपैयाँ संकलन गरिएको थियो । उक्त रकम अपुग हुने भएपछि बाह्रदेव ज्यावन सेवा समाजले एक महिनादेखि फेसबुकमार्फत आर्थिक सहयोग संकलन गरेको होे ।

समाजका अध्यक्ष गोपाल सिंह धामीले समाजिक सञ्जालमार्फत स्वदेश तथा विदेशमा बस्ने नेपालीबाट आर्थिक सहयोग रकम संलकन गरिएको जानकारी दिँदै भन्नुभयो– ‘हामीले हाम्रै छोरीचोलीलाई आर्थिक अभावकै कारण मृत्युको मुखमा पुग्नबाट जोगाउन सफल भएका छौं ।’

उहाँले गत साउनदेखि अभियान सञ्चालन गरेको र एक महिनाको अवधिमा स्वदेश तथा विदेशबाट सोचेभन्दा बढी सहयोग प्राप्त भएको जानकारी दिँदै आगामी दिनमा समेत अभियान निरन्तर जारी राख्ने बताउनुभयो ।

महेन्द्रनगरको रोज पब्लिक एकेडेमीमा कक्षा ७ मा अध्ययनरत सविना गत असारमा एक्कासि बिरामी हुँदा उपचारका लागि उनलाई स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको माया मेट्रो अस्पतालमा दुई साता उपचार गर्दा समेत निको नभएपछि काठमाडौं पठाइएको थियो । सविनाका ठूलोबुबा नरबहादुर धामीका अनुसार सविनाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ । पाटन अस्पतालमा पुगेपछि सविनाको दुवै मृगौलामा खराबी आएको पत्ता लागेको र त्यसपछि आफूहरू आत्तिएको धामीले बताउनुभयो । उहाँले घरपरिवारले सविनाको उपचार खर्च धान्न नसकिने अवस्थामा स्थानीय, बाह्रदेव ज्यावन समाजलगायतले अभियान नै सञ्चालन गरेर सहयोग गरिदिएकोमा आभार प्रकट गर्नुभयो । उहाँका अनुसार अहिले सविनाको स्वास्थ्यमा धेरै सुधार आएको छ ।

प्रतिक्रिया दिनुहोस्