शाक्यलाई प्रधान साहित्यकार पुरस्कार



नेपाल समाचारपत्र, ललितपुर ।

साहित्यकार शान्तराज शाक्यलाई यस वर्षको प्रधान साहित्य पुरस्कार प्रदान गरिएको छ । स्वर्गीय कवियत्री मन्दिरा प्रधानको नाउँमा ४९ वर्षअघि स्थापित सो पुरस्कार नेपाल भाषाको साहित्यमा योगदान पुर्‍याउने साहित्यकारलाई दिँदै आएको छ ।

ललितपुरमा आयोजित एक समारोहबीच पुरस्कार दाता कवियत्री प्रधानका छोरा मञ्जुर प्रधानले साहित्यकार शाक्यलाई प्रमाणपत्र र नगद राशि १० हजार रुपैयाँ प्रदान गर्नुभयो ।

कथावाचनमार्फत कथा वाचन गर्ने र श्रवणको परम्परालाई पुनर्जीवन दिइएको, विभिन्न कथाकारका पुराना कृतिलाई आधुनिक पुस्तामाझ चिनाउन, नेपाल र नेपाली भाषाको कथाको माध्यमबाट त्यसको नैतिक, सांस्कृतिक सन्देशलाई प्रचार गर्नमा योगदान पु¥याएकोलाई कदर गरी सो पुरस्कार दिइएको हो ।

‘लकडाउन धेरैका लागि समस्या दिने, दुःखदायी बन्यो तर, मेरो लागि भने अवसर बन्यो । फुर्सदको समयलाई फेसबुक माध्यम प्रयोग गरी कथा वाचन गर्दा शुरूमा स्रोताहरूले कसरी लेनान् भन्ने लागेको थियो’, साहित्यकार शाक्यले भन्नुभयो– ‘पछि आएका प्रतिक्रियाले मलाई निकै उत्साहित तुल्यायो । एक दिन मात्र कथावाचन गर्न सकिनँ भने पनि मानिसहरूले मलाई सञ्चो छैन कि भन्ने खबर पठाउँथे । यसरी पुरस्कार पाउँला भनेर सोचेको पनि थिइनँ ।’

सो अवसरमा वरिष्ठ चलचित्र पत्रकार विजयरत्न अशंवरले कोरोना संक्रमणका बेला मानिसहरू अत्यधिक चिन्तित, डरले घरमै सीमित भइरहनुपर्दा शाक्यले फेसबुकको माध्यमबाट साहित्यको श्रीवृद्धिको लागि पुर्‍याउनुभएको योगदानको सराहना गर्नुभयो ।

समारोहमा नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले साहित्यकार शान्तराज शाक्यको कथा वाचन, भाव सम्प्रेषणको कला र नैतिक, सांस्कृतिक चेत युक्त कथा कोरोनाकालमा गुम्सिएर बसिरहेको मानिसहरूका लागि आनन्दले श्वास फेर्ने ‘भेन्टिलेटर’ समान भएको धारणा राख्नुभयो ।

पुरस्कारको इभेन्ट म्यानेजर सुरेन्द्रभक्त श्रेष्ठले भाषा, साहित्यमा योगदान पु¥याउनेलाई प्रेरित गरिरहन पुरस्कारको महत्वको विषयमा आफ्नो धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्