गर्भवती महिला कोरोना संक्रमणको जोखिममा



Young mother to be feeling ill from viral influenza disease

चिरञ्जीवी मास्के, दोलखा ।

दोलखामा कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै जाँदा सुत्केरी तथा गर्भवती महिलाहरूसमेत जोखिममा परेका छन् । साउन महिनामा मात्र ४१ जना गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको चरिकोट अस्पतालका प्रमुख एमडीजीपी डाक्टर विनोद दंगालले बताउनुभयो ।

जिल्लामा कोरोना संक्रमणको समग्र पक्षको तथ्याङ्क हेर्दा गर्भवती महिलामा देखिएको संक्रमणको संख्या त्यति डरलाग्दो त हैन तर यसले उहाँहरू पनि जोखिममा हुनुहुन्छ भन्नेचाहिँ देखाएको छ । चरिकोट अस्पतालका प्रमुख डाक्टर दंगालले भन्नुभयो । साउन महिनामा संक्रमित गर्भवती महिलाहरूको संख्यामा वृद्धि भएकोले पनि उहाँहरू जोखिममा रहनुभएको देखिएको डाक्टर दंगालको भनाइ छ ।

दोलखा जिल्लामा भदौ ५ गते शनिबारसम्मको तथ्याङ्क हेर्दा तीन हजार दुई सय ६६ जनामा दोस्रो लहरको कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ६२ जना गर्भवती महिलाहरू रहेको डाक्टर दंगालले बताउनुभयो ।

कोरोना संक्रमणको दोस्रो लहमा तीन महिनाको अवधिमा असारसम्म २१ जना मात्र गर्भवती महिला कोरोना संक्रमित भएकोमा एक महिनाको अवधि साउन महिनामा मात्र ४१ जना गर्भवती महिला संक्रमित भएकोले पनि उहाँहरू जोखिममा रहनुभएको देखिएको डाक्टर दंगालको भनाइ छ ।

कोरोना संक्रमित ६२ जना गर्भवती महिलाहरूमा अधिकांश ठीक भइसक्नु भएको डाक्टर दंगालले बताउनुभयो । संक्रमित गर्भवती महिलाहरूमध्ये तीन जनाको सामान्य प्रसूतिसमेत भएको र तीन जनालाई अस्पतालमा राखेर उपचार गर्नुपरेको जनाइएको छ । संक्रमित गर्भवती महिलाहरू कसैलाई पनि उपचारको लागि काठमाडौं भने रेफर गर्नुनपरेको चरिकोट अस्पतालले जनाएको छ ।

सामान्य रुघा, खोकी र ज्वरो आएको गर्भवती महिलाहरूमा समेत कोरोना संक्रमण पुष्टि भएकोले उहाँहरूले विशेष सर्तकता अपनाउनुपर्ने डाक्टर दंगाल बताउनुहुन्छ । संक्रमित गर्भवती महिलाहरूले मास्क लगाएर मात्र दूध खुवाउने र बच्चालाई छुनुअघि साबुनपानीले मिचीमिची हात धुनुपर्ने डाक्टर दंगालले बताउनुभयो ।

अन्य जिल्लाको तुलनामा दोलखामा संक्रमितको संख्या धेरै रहेको तर भ्याक्सिन भने कम आएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । दोलखामा अहिले पनि चार सय ६६ जना सक्रिय संक्रमित रहेको र जिल्लाबाट रेफर गरेको बाहेक नै पनि १३ जना संक्रमितको मृत्यु भएको तथ्याङ्क रहेको चरिकोट अस्पतालले जनाएको छ ।

अस्पतालमा अहिले आईसीयु, भेन्टिलेटर र अक्सिजन भए पनि आवश्यक जनशक्तिको अभाव रहेको अस्पतालका प्रमुख डाक्टर विनोद दंगालले बताउनुभयो । बागमती प्रदेशले आवश्यक जनशक्ति पठाउने भने पनि अहिलेसम्म त्यसको व्यवस्थापन गर्न नसकेको चरिकोट अस्पतालले जनाएको छ ।

दोलखा जिल्लामा कोभिशिल्ड, भेरोसेल, जोन्सन र एस्ट्राजेनेका गरी पहिलो र दोस्रो दुवै डोज झन्डै ३७ हजार (जोन्सन खोप लगाउने आठ हजारसमेत) ले लगाएको र पहिलो डोज मात्र करिब सात हजारले लगाएको स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्कले देखाएको छ ।a

प्रतिक्रिया दिनुहोस्