गुनासो सुन्न र मेटाउन जनताका घरमा मेयर



नेपाल समाचारपत्र, पाल्पा ।

कुनै वेला प्रूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जनताको घरमा प्रधानमन्त्री भन्ने कार्यक्रम सुरु गरी जनताका गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्ने प्रयास गर्नु भएको थियो । जनप्रतिनिधीहरु जनताप्रति उत्तरदायी बन्दैनन् चुनावका वेला मात्रै जनतासँग नजिक रहन्छन् भन्ने आरोपको खण्डन गर्नका लागि सुरु भएको त्यो प्रयासलाई केही हदसम्म जनताले रुचाएका पनि थिए ।

त्यस्तै त नभनौं तर सोही प्रकृतिको कार्यक्रम पाल्पा जिल्लाको सदरमुकाम तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले पनि केही समय अघिदेखि सुरु गर्नुभएको छ । जनताको घरमा मेयर नाम दिएको सो कार्यक्रमा मेयर शाही जनताको गुनासो सुन्न नगरका विभिन्न वडासहित जनताको घरमा पुग्ने गर्नुभएको छ साथमा उहाँले नगर कार्यपालिकाका पदाधिकारी र कर्मचारीलाई पनि सँगै लिएर जाने गर्नुभएको छ । उहाँ भन्नुहुन्छ– ‘चुनावको बेलामा जनताको घरघरमा पुग्ने चुनावमा विजयी भएपछि जनताहरूको घरमा नजाने, गुनासो नसुन्ने गरेको अरोप जनप्रतिनिधिलाई नागरिकहरू गर्ने गरेको सुनिन्छ यही गुनासोलाई मध्यनजर गरी जनताको गुनासो मेटाउन तथा चुनावमा जनतासमक्ष गरेका प्रतिबद्वताको छलफल गर्नका लागि विभिन्न वडामा कार्यक्रम गरिएकको हो ।

यही हप्ता नगर प्रमुख शाही तानसेन नगरपालिका–८ को छापमा पुग्नुभयो । उहाँको साथ उपप्रमुख लक्ष्मीदेवी पाठक, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डे त्यस्तै कार्यालयका कर्मचारीहरू पनि हुनुहुन्थ्यो । त्यहाँ पुग्दा स्थानीयले त्यो टोलीलाई स्वागत गरे साथै आफ्ना पीरमर्का र गुनासा पनि निर्धक्कसँग पोखे ।

तानसेन नगर पालिकाले २०७५ सालमा तानसेन वडा न १३ छर्लङ्गको बोटे समुदायबाट यो कार्यक्रमको शुरूवात गरेको हो जुन कार्यक्रमको निरन्तरता वडा न ८ छाप थियो । मगर समुदायको वस्ती रहेको वडामा जनताले मुख्य गरेर स्वरोजगारमूलक कार्यक्रम र कृषि कार्यका लागि वजेट र सहयोगको माग स्थानीयले गरे ।

वडाकी वासिन्दा अनिता मिधुनले भन्दै हुनुहुन्थ्यो– ‘नगरपालिकाले स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरे पनि कार्यक्रममा अझै धेरै युवाहरू समावेश हुन सकेनन ।’ उहाँले थप्नुभयो– ‘अझै पनि धेरै युवा शक्ति रोजगारीको सिलिसिलामा बैदेशिक रोजगारीमा भौतारिरहेकोले ती युवा शक्तिलाई स्वदेशमा नै स्वरोजगारका कार्यक्रममार्फत समेटी वैदेशिक रोजगारीमा जाने युवाहरूलाई देशमा नै स्वरोजगार बनाउनुपर्‍यो ।’

केशव रानाले खेलकुदमा भविष्य खोजेका युवा खेलाडीहरू उत्पादनमा गर्नका लागि नगरपालिकाले छुट्टै किसिमले योजना बनाउनुपर्ने सुझाव दिनुभयो । नगरपालिकाका प्रमुख शाहीको भनाइमा जनताको भावना, जनताको अपेक्षाहरूलाई ग्रहण गरि जनताले नगरसरकारले गरेको कार्यको मुल्यांकन सहि छ कि गलत छ भनी जनताले दिएको मतको नासो जनतालाई नै फिर्ता गर्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । उहाँले जनताकै माग र सुझावअनुसार महिला स्वलम्बन कार्यक्रम, दलित सशक्तीकरण कार्यक्रम, नगरपालिका जमानत बसि बिना धितो कुनै पनि व्यवसाय सञ्चालन गर्न चाहने युवाहरूलाई ऋण उपलब्ध गराउने कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयो ।

बैदेशिक रोजगारीबाट कोभिडका कारण स्वदेश फर्किएका युवाहरूलाई स्वरोजगारमूलक कार्यक्रम जोड्नका लागि नगरसरकारले पोस्ट कोभिड कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले जनप्रतिनिधि भनेको जनताले नै चुनेको प्रतिनिधि भएकोले उनीहरुले जन अपेक्षा स्वरूपमा कार्य अगाडि बढाउनुपर्ने बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेले जनगुनासोलाई कदर गरि जनअपेक्षाअनुसारको कार्य गर्ने बताउनुभयो ।
तानसेन नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले कृषिलाई आधुनिकिकरण गर्न कृषि जन्य यन्त्र उपकरण वितरण, कृषि जन्य उन्नत जातका बीउ बिजनको वितरण, युवा स्वरोजगारका कार्यक्रम सञ्चालन भएको बताउनुभयो । उहाँले कृषिका कार्यक्रम नगरका १४ वटै वडामा अगाडि बढेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्