उद्धारका लागि विवरण संकलन



बैतडी, (नेस) ।

जिल्ला प्रशासन कार्यालयले अफगानिस्तानमा रहेका बैतडीका नागरिकको विवरण संकलन गरिरहेको छ । अफगानस्थानमा रहेका नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार यहाँका नागरिकको पनि विवरण संकलन गर्न लागिएको हो ।

बैतडी घर भई अफगानिस्तान पुुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न प्रशासनले सूचना जारी गरेको हो । जिल्लाका सबै स्थानीय तहहरुलाई विवरण संकलनका लागि पत्राचार गरिसकिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरेको हो । प्रशासनको पत्रअनुसार यहाँका स्थानीय तहरुले वडा कार्यालयमार्फत विवरण संकलनको काम जारी राखेका छन् ।

अफगानस्थानमा रहेका व्यक्तिको नाम, जानुको कारण, बसोबास गरेको ठेगाना र सम्पर्क नम्बरसहितको विवरण संकलनको कार्य भइरहेको छ । भारतीले भन्नुभयो– ‘भदौ ७ गतेसम्म संकलन गरि पठाउन स्थानीय तहहरुलाई भनेका छौं, त्यसपछि हामीले संकलित विवरण गृह मन्त्रालयलाई पठाउँछौं ।’

अफगानिस्तानमा विद्रोही तालिवान समूहले सत्ता कब्जा गरेपछि त्यहाँ त्रास तथा हिंसा बढ्दै गएको छ । त्यहाँ हालैका राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिमा त्यहाँ रहेका नेपालीको जीवन जोखिममा पर्न सक्ने भन्दै उद्धार गरिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्