प्रस्तावित सहकारी बैंकको सम्पर्क कार्यालय खुल्यो



काठमाडौं, (नेस) ।

प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय खुलेको छ । मध्य बानेश्वरमा रहेको सम्पर्क कार्यालयबाट छ महिनापछि कारोबार सञ्चालन गर्ने गरी कार्यालय खुलेको हो । प्रस्ताबित बैकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेका आरोप लगाउदै सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको जनाइएका छन् ।

प्रस्ताबित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथ नेपाल सहकारी बैंक सञ्चालनमा आउने दाबी गर्नुभयो । भन्नुभयो–‘लाइसेन्स पाउना साथ कारोबार शुरु गरिहाल्छौं ।’ उहाँले राष्ट्र बैकले तोकेअनुसारको सबै प्रक्रिया पूरा गरी अन्तिम चरणमा रहेको उल्लेख गर्दै अब छ महिनाभित्र अनु्मतिपत्र पाएर बैंक सञ्चालनमा आउने दाबी गर्नुभयो । साढे दुई अर्ब रुपियाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा विस्तार गरिने उहाँको भनाइ थियो । सहकारी ऐन–२०४८ मा भएको व्यवस्था अनुरुप स्थापना भएको बैंक सञ्चालनमा छ । ऐनको धारा १२ मा नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिइ सहकारी बैंकहरु गठन गर्न सकिने कुरा उल्लेख छ । सोही ऐन अनुसार बैक स्थापान प्रक्रिया अघि बढाइएको हो ।

त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५ सय १ संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । सहकारी ऐनले सहकारी बैंकको शेयर पुँजी नेपाल राष्ट्र बैंकले तोकेबमोजिम हुने प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्