‘हराएका नासिएका जङ्गे सीमास्तम्भ पुनर्स्थापनाका लागि आवाज उठाऔंं’



काठमाडौं, नेस ।

नेपाल–भारत सीमा क्षेत्रमा सीमा भारततर्फबाट सीमा मिचिने कार्य अहिले मात्र भएको होइन, पहिले भारतमा बृटिस राज हुँदा पनि हुने गरेको थियो ।  तर त्यतिबेला नेपालले आवाज उठाउने गरेको थियो र नेपालको आवाजलाई भारतमा रहेको बृटिस राजले सुन्ने पनि गरेको सीमाबिद् बुद्धिनारायण श्रेष्ठको भनाई छ ।

राजधानी काठमाडौंमा आज सार्वजनिक भएको सीमाबिद् श्रेष्ठको १३ औं पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ मा श्रेष्ठले यस्तो दाबी गर्नुभएको हो । जङ्गबहादुरले ब्रिटिस रेजिडेन्ट जी र्‍यामसेमार्फत भारत सरकार विदेश विभागका फोर्ट विलियमलाई ७ अप्रिल १८६२ मा रोष प्रकट चिठ्ठी लेखेको जिकिर गर्दै पुस्तकमा भनिएको छ–‘ उक्त चिठ्ठीमा गोरखपुरउत्तरको दुई देशको सहमतिमा गाडिई निकै वर्षसम्म रहेका जमुना गाउ‘बाट गुज्रेको सीमारेखाका लठ्ठाहरू अङ्ग्रेज सर्भेयरहरूले अचानक हटाएकाले करिब १६० बिगाहा नेपाली सरहदको जमिन मिचिएको छ, यसबाट हामीलाई ब्रिटिस राजप्रति नराम्रो धारणा (इल फिलिङं) परेको छ’ भन्ने कुरा उल्लेख गरिएको थियो ।’ पुस्तकमा ब्रिटिस रेजिडेन्टमार्फत आएको उक्तको चिठीको जवाफमा ‘गभर्नर जनरलले यो निश्चित गरेका छन् कि राप्ती र मोहना नदीको गहिरो भागको सिमाना अङ्कन हुने गरी पक्की लठ्ठा नं. १३ देखि २२ र ९८ देखि १७१ खडा गरी जमिन पहिलेझैँ राखिनेछन्’ भन्ने उल्लेख गरिएको भनिएको छ । यसरी जङ्ग बहादुरले अंगे्रजलाई सीमास्तम्भ पुनः खडा गर्न बाध्य पारेजस्तै हामीले पनि प्रतिवाद गर्दै गयौं भने हराएका नासिएका जङ्गे सीमाखम्बा ठाउँका ठाउँ फेरि स्थापना हुनसक्छन् भन्ने विवरण पनि सुझावस्वरुप पुस्तकमा उल्लेख गरिएको छ ।

पुस्तक सार्वजनिकीकरण कार्यक्रममा लेखक श्रेष्ठले भन्नुभयो–‘नेपालका हालसम्मका प्रधानमन्त्रीहरूमध्ये जङ्ग बहादुर नै यस्ता प्रधानमन्त्री थिए, जसले बृटिशकालीन भारत सरकारलाई नेपालको सरहद मिचियो, फिर्ता गर भनी चिठ्ठी लेखेका थिए ।’

सीमाविद् श्रेष्ठले पुस्तकमा नेपालको सिमाना तथा अन्य देशहरु नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रगत अध्ययन गरेर हासिल गरेको अनुभव र त्यसबाट पाएको सीमा शिक्षा समेटिएको जानकारी दिनुभयो । उहाँले नेपालको सीमा मामिला विदेशीले पनि बुझुन् भन्ने उद्देश्यले नक्साको द्वन्द्व, चुच्चे नक्सा आदि अंग्रेजीमा लेखिएको पनि बताउनुभयो ।

भारत–पाकिस्तान अशान्त सीमा, भारत–बंगलादेश जमिन साटासाटले दिएको सन्देश, नेपाल–भारत–चीन त्रिदेशीय विन्दु, क्यानडा–अमेरिकाको खुला सीमा व्यवस्था, अमेरिकी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भारत अन्तर्गतको भन्दा उनका सल्लाहकारले नेपाल स्वतन्त्र देश हो भनी सच्याउन लगाएको प्रसंग पनि पुस्तकमा उल्लेख गरिएको छ ।

पुस्तकमा इलामको हिले भंज्याङका पेम्बा भोटियासमेतका ६ घरधुरीका नेपाली जनता २०५९ असार २४ गते ‘राती सुत्दा नेपाली, भोलिपल्ट बिहान उठ्दा त भारतीय’ भइरहेका र त्यसको कारण चाहिँ राती भारतीयले ७१/२२ नम्बरको नयाँ पुड्को खम्बा गाड्नाले यस्तो भएको फिल्डगत अध्ययन विवरण उल्लेख गरिएको छ । पुस्तकमा लेखक श्रेष्ठले त्यसै क्षेत्रको सीमा स्तम्भ नं. ७१/१७ रहेको भारतीय एसएसबीले मिचेको जमिनको फोटो खिच्नलाग्दा नजिकैको क्याम्पमा रहेको एसएसबीको सेन्ट्री जवानले बन्दुक तेस्र्याउँदा आफू फालतोडेर नेपालतिरको चिया पसलभित्र पुगेको घटना पनि रोचक तरिकाले उल्लेख गर्नुभएको छ ।

‘बोर्डर म्यान अफ नेपाल’ को वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ सञ्चारकर्मी भैरव रिसाल तथा विकास अभियन्ता बद्रीप्रसाद खतिवडाले उक्त पुस्तकको संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो । पुस्तकमाथि वरिष्ठ सञ्चारकर्मी तथा समसामयिक लेखनकर्ता धु्रवहरि अधिकारी र त्रि. वि. पूर्वप्राध्यापनकर्ता रामेश्वर प्रसाद बरालले टिप्पणी गर्नुभएको थियो ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठको यसअघिको पुस्तक ‘नेपालको सिमाना’ले मदन पुरस्कार जितेको थियो । कार्यक्रममा मानवअधिकार संरक्षण मञ्च (मासम) ले पुस्तकका लेखक श्रेष्ठलाई चाँदीले बनाएको चुच्चे नक्सासहितको कदरपत्र प्रदान गर्दै सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्