कोरोनाको तेस्रो लहर रोक्न पूर्वतयारी शुरू



मनोज भट्ट, महेन्द्रनगर ।

कोरोनाको तेस्रो लहर रोकथामका लागि कञ्चनपुरमा पूर्व तयारी थालिएको छ । प्रमुख जिल्लाअधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभरि मास्क लगाउने अभियानसँगै स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउनका लागि अभियान सञ्चालन गरिएको छ ।

‘सिमानाका भएर आउने व्यक्तिहरूको हेल्थ डेस्कमा जाँच गरेर मात्रै पठाउने गरेका छौं’, उहाँले भन्नुभयो– ‘स्थानीय तह, संघ संस्था संगको समन्वयमा एम्बुलेन्सको व्यवस्थासमेत गरिएको छ ।’

त्रिनगर र गड्डाचौकी सीमानाकामा एक एक हजार जना अट्ने होल्डिङ सेन्टर निर्माण भइरहेको छ । होल्डिङ सेन्टर निर्माण केही दिनभित्रै पूरा हुने प्रजिअ पाण्डेयले बताउनुभयो ।

यस्तै, महाकाली अस्पतालमा बालबालिकालाई लक्षित गरी ५० श्यया थप्ने काम भइरहेको छ । काम दुई महिलाभित्र तयार हुने पाण्डेयले बताउनुभयो । अस्पतालमै अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया शुरू भइसकेको र केही दिनभित्रै जडानका शुरू हुने उहाँले बताउनुभयो ।

कोरोनाविरुद्धको खोप लगाउने कार्य पनि जारी छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप शाखा प्रमुख जनक कुँवरका अनुसार हालसम्म ३५ प्रतिशतले खोप लगाएका छन् । पहिलो मात्राको खोप एक लाख १२ हजार जनाले लगाइसकेका छन् । दोस्रो मात्रा लगाएका ७४ हजार छन् । जोन्सन एन्ड जोन्सन’ खोप २७ हजार चार सयलाई लगाइएको छ । स्वास्थ्य कार्यालयसँग १० हजार खोप भण्डारण गर्ने क्षमता छ । खोपको दोस्रो मात्रा लगाइसकेपछि बचेको सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक र कर्मचारीलाई लगाउने कार्यालयको योजना छ ।

प्रतिक्रिया दिनुहोस्