विर्तामोडबाट ब्राउन सुगरसहित चार पक्राउ



भद्रपुर, (नेस)  ।

बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । मंगलबार साँझ ५ बजे बिर्तामोड–१ चारपाने बस्ने २२ वर्षीया देवी तामाङको घरमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले छापा मार्दा लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा घरधनी तामाङ र उनका साथी बिर्तामोड–५ बस्ने २१ वर्षीया सीता खतिवडालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शङ्का लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लास्टिकसहित ४ ग्राम ४५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्लाका डीएसपी राकेश थापाले जनाउनुभयो ।

त्यसै गरी, सोही दिन दिउँसो ४ बजे बिर्तामोड ५ जात्रुबारी चोकको बाटोमा बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ बस्ने २० वर्षीय रतन राजवंशी र सोही ठाउँका २४ वर्षीय सुरज चौधरीलाई शंका लागेर चेकजाँच गर्दा सुरज चौधरीको साथबाट प्लास्टिकसहित ३ ग्राम ३० मिलिग्राम ब्राउनसुगर फेला परेको डीएसपी थापाले बताउनुभयो ।

पक्राउ परेका आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि ईप्रका बिर्तामोडमा राखिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्