पूर्वका जलविद्युत् आयोजनाका लागि ढोका खुल्यो, कोशी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड तयार



नेपाल समाचारपत्र, काठमाडौं ।

कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो ।

प्रसारण लाइनका लागि ३ सय २६ वटा टावर निर्माण गरिएको छ । लाइनलाई मंगलबारबाट ३३ केभीमा सञ्चालन (चार्च) गरिनेछ । प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने करिब २ हजार मेगावाट जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

‘इनरुवामा २२० केभीको सबस्टेसको निर्माण पूरा नहुन्जेल लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिने छ,’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो–‘यसबाट बर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ ।’

संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइने छ । तिरतिरे–बसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरु बर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरुको जडित क्षमता करिब ३३ मेगावाट छ । संखुवाभाको तुम्लिङटार तथा बानेश्वर र तेह्रथुमको बसन्तपुरमा गरी ३ वटा सबस्टेसनको निर्माण गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिनुभयो । ‘निर्माण चरणमा विभिन्न अवरोधहरु छिचोल्दै निरन्तरको प्रयासबाट सबैको साथ र सहयोगमा काम सक्न सफल भएका छौं’, उहाँले भन्नुभयो–‘निर्माणाधीन अन्य प्रसारण लाइन आयोजनाको तुलनामा ठूलो र लामो लाइन छिट्टो निर्माण सम्पन्न भएर रेकर्ड पनि कायम भएको छ ।’

नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा १ नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता ९पीपीए० गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ । दोस्रो प्याकेजमा इनरुवा, बसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण गरिएको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ । तेस्रो प्याकेजमा बसन्तपुर–ढुंगेसाँघु ९ताप्लेजुङ० ३५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । १ सय ३२ वटा टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्