पर्यटन उद्योगलाई चलायमान बनाउन माग



काठमाडौं, (नेस) ।

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रम लागू गर्न सरोकारवाहरूको माग छ । होटल संघ नेपाल, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टुरिस्ट बस एसोसिएसन अफ नेपाललगायत एक दर्जनभन्दा बढी संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड महामारीले अत्यन्तै प्रभावित बनेको पर्यटन उद्योगलाई बचाउन नौ बुँदे माग अघि सारेका छन् ।

उनीहरूको आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषणा गरिएका पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रम लागू गर्न उनीहरूको माग छ । सबै नेपालीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गर्न र सम्पूर्ण पर्यटकीय क्षेत्रहरु खुल्ला गर्न आग्रह गरिएको छ ।

त्यस्तै खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकलाई क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गर्न तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य प्रवेश बिन्दुमा पीसीआर टेस्टको व्यवस्था गरी पोजिटिभले मात्र क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गर्ने, अनलाइन भिसा (ई– भिजा) सेवा प्रणालीमार्फत सहजरुपमा ‘भिसा अन–अराइभल’ व्यवस्था लागू गर्न पनि व्यवसायीले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्