समुदायमा कोरोना फैलिन नदिन एन्टिजेन परीक्षण



काठमाडौं (नेस) ।

ललितपुर महानगरपालिकाले संक्रमितको नजिकको सम्पर्कमा रहेका र कोभिड १९को लक्षण देखिएका व्यक्तिलाई लक्षित गरी समुदायमा नै पुगेर एन्टिजेन परीक्षण गरिरहेको छ ।

महानगरले पछिल्लोपटक साउन २४ देखि २७ गतेसम्म महानगरभित्रका विभिन्न स्थानमा परीक्षण केन्द्र राखेर एन्टिजेन परीक्षण गरेको थियो । त्यसअघि पनि वडा पिच्छे परीक्षण केन्द्र राखी परीक्षण गरिएको थियो । ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालेले कोरोना संक्रमण समुदायमा फैलन नदिन समुदायमै पुगेर एन्टिजेन परीक्षण गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘महानगरले आवश्यकताअनुसार वडापिच्छे र महानगरभित्रका विभिन्न ठाउँमा परीक्षण केन्द्र राखेर एन्टिजेन परीक्षण गरिरहेको छ ।

हालसम्म साढे पाँच हजार जनाको एन्टिजेन परीक्षण गरिसकेको महानगरले जनाएको छ । परीक्षण गर्दा पोजेटिभ देखिएकालाई महानगरले सञ्चालन गरेको आइसोलेसन सेन्टर राखिएको छ । केही भने होम आइसोलेसनमा बसेको महानगरले बताएको छ । र्‍यापिड रेस्पोन्स टिमका संयोजकसमेत रहनुभएका अर्यालले आवश्यकताअनुसार परीक्षणको दायरा बढाउने जानकारी दिनुभयो । महानगरले महानगरभित्रका वृद्धाश्रम, बालबालिका राखिएका सेल्टरमा समेत एन्टिजेन परीक्षण गरेको छ ।

महानगर कोभिड फोकल पर्सन देवी थापा गुरुङले वडैपिच्छे परीक्षण केन्द्र समुदायमा कोरोना फैलन सक्ने संभवना नियन्त्रण हुने बताउनुभयो । उहाँले भन्नुभयो–‘कोरोनाको बारेमा जनचेतना जगाउन पनि यसले सहयोग गरेको छन् ।’

फोकलपर्सन गुरुङका अनुसार एन्टिजेन परीक्षण गर्न आउनेहरूमध्ये धेरै सार्वजनिक पेसा र व्यवसायमा आबद्ध भएकाहरू छन् ।

प्रतिक्रिया दिनुहोस्