वर्तमान राजनीतिबाट युवा पुस्ताले के सिक्ने ?



नगेन्द्रराज पौडेल ।

सिकाइ पुस्तान्तरण हुन्छ । ‘बूढी मरै भाषा सरै’ भन्ने चलन पनि छ । यो संस्कारजन्य पनि हुन्छ । शिक्षाविद्हरु सिकाइका तीनवटा तरिका अघि सार्छन्– औपचारिक, अनौपचारिक र अरीतिक । यीमध्ये अरीतिक सिकाइले पार्ने प्रभाव चिरस्थायी र अविस्मरणीय समेत हुन्छ । जस्तो समाजमा बस्यो त्यस्तै व्यवहार देखाउनु यसैको उदाहरण हो । राजदरबारमा गोठालै बसे पनि त्यसले ‘सियोस्’ नै मिसाएर बोल्छ । कतिपय सिकाइ सासूको व्यवहारबाट बुहारीमा र जेठानीको व्यवहारबाट देवरानीमा सरेको हुन्छ । यसै कारण नेपालीमा एउटा उखान छ, ‘सिक सिक, देवरानी घरमै जेठानी’ ।

यो कुरा नेपाली राजनीतिमा पनि लागू हुन्छ । यति बेला नेपाली राजनीतिमा जुन परिदृश्यहरु देखिएको छ, त्यसलाई हेर्दा राजनीतिमा लागेका युवा पुस्ताहरुले के सिक्ने होलान् ? राजनीतिको आगामी पिँढी कस्तो हुने होला ? सहजै अनुमान गर्न सकिन्छ । चरम व्यक्तिवादी प्रवृत्ति, मेरो गोरुको बाह्रै टक्का भन्ने शैली र अराजकहरुको भीड तयार गर्नु मात्रै के हाम्रा राजनीतिक दलको अभीष्ट हो ? सत्ता मात्रै सबै थोक हो र सत्तामा मबाहेक अरु बस्नै हुँदैन भन्ने मान्यता मात्र ठीक हो त ? विचारणीय छ । महात्मा गान्धी पदमा गएर आदर्श बनेका हुन् र ? गणेशमान सिंह प्रधानमन्त्री भएनन् तर उनको राजनीतिक उचाइसँग आजका कुनै प्रधानमन्त्रीको तुलना हुनसक्छ ? किसुनजीसँग तुलना गर्नलायक कुनै प्रधानमन्त्री हामीकहाँ छन् ? मनमोहनलाई भेट्ने एमालेका अरु प्रधानमन्त्री किन आजसम्म जन्मेनन् ? यसै कारण भनिन्छ, सबै निर्वाचित प्रधानमन्त्रीहरु वेस्टन चर्चिल हुँदा रहेनछन्, न त सबै कम्युनिस्ट पार्टीका अध्यक्षहरु नै माओत्सेतुुङ हुन्छन् ।

राजनीतिमा कित्ताकाट :

यति बेला नेपाली राजनीति र खासगरी वाम राजनीतिमा कित्ताकाटको अवस्था छ । तत्कालीन नेकपामा देखिएको विवाद, तत्कालीन प्रधानमन्त्रीले गत पुस ५ गतेपछि २–२ पटक गरेको संंसद् विघटन र सर्वोच्चको संवैधानिक इजलासबाट संसद्को पुनस्र्थापनाको आदेशसहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि दिएको परमादेश, एकीकरणबाट बनेको नेकपा वैध नभएको सर्वोच्चको आदेशसहितका परिघटना राजनीतिक उतारचढावका लागि कारक बनेर देखिए । प्रधानमन्त्रीको सिफारिस कार्यान्वयन गर्न राष्ट्रपतिले देखाएको हतारोले आगोमा घिउ थप्ने काम ग¥यो ।

नेकपा एमालेमा देखा परेको २ गुटको चरम महत्वाकाङ्क्षा हाबी हुँदा अहिले बेथिति र विसंगतिको राजनीतिक संस्कार अघि बढेको छ । हिजोसम्म आफैंले आदर्श मानेका नेताहरु दुईतिर हुँदा एउटाले अर्कोलाई अवसरवादी, गद्दार हुँदै देशद्रोहीसमेतको आरोप–प्रत्यारोपमा शीर्ष नेताहरु उत्रेका छन् । दिनहुँजसो एउटाको खिलाफमा अर्कोले जुलुस प्रहसन गरिरहेको छ । सडकमा प्रधानन्यायाधीशको पुत्ला दहन गरिएको छ । पराईसँग मुकाबिला गर्नुपर्ने तागत सगोत्रीसँग लडेर दुरुपयोग भैरहेको छ । एउटा समूह अर्को समूहका लागि बैरी मात्र होइन, गणतन्त्रविरोधी, संघीयताविरोधी, स्वार्थी, पदलोलुप घोषित भएका छन् । आफ्नो समूहमा आउने साक्षात ईश्वर ठहरिएका छन् । पर्ख र हेरको अवस्थामा बसेकाहरु दुवै थरीको आकर्षण बन्दै छन् । कुनै पनि दिन उनको कित्ता स्पष्ट भएपछि अर्को समूहका लागि उनीहरु पनि गालीगलौजको प्रमुख निशाना हुनेछन् । राजनीतिमा योभन्दा भद्दा मजाक अर्को के हुन सक्ला ?

हिजोसम्म एउटै थालीमा खाएकालाई जिउँदैमा श्रद्धाञ्जलि दिन मन लाग्यो कसैलाई भने कसैलाई हिजोको सहयात्रीको अनुहारमा गोमन साप रूपान्तरित भयो । यस्तो पनि हुन्छ ? राजनीतिमा जे पनि हुन्छ र ? राजनीतिमा नैतिकता, इमानदारिता, धैर्यता र विश्वासको अलिकति पनि गुञ्जायस नभएकै हो त ? आफूलाई ठूला दल र महान् भन्ने सबै खाले नेताले जसलाई सत्तोसराप गर्छन्, भोलि उनैलाई भगवान् मान्ने दिन पनि आउँछन् भन्ने कुरा किन बिर्सन्छन् ? आज जसलाई गालीगलौजको वर्षा गरिएको छ, भोलि उसैका नाममा प्रशंसाका फूल–थुँगाहरू गाँस्न नपरोस् भन्ने हेक्कासम्म नराख्ने पनि राजनीतिज्ञ हुन्छन् ? आफूलाई नेता हुँ भन्नेले एकपटक सोच्नुपर्ने देखिन्छ । के यही प्रवृत्ति आगामी पुस्ताले पनि सिक्नुपर्ने हो ? राजनीति भनेको सारमा यही हो त ? होइन भने आगामी पुस्ताका लागि अनुकरणीय दृष्टान्त यिनीहरुले के दिए त ? यस्ताहरुबाट नवागन्तुक पिँढीले सिक्ने के हो ?

अतिवादी प्रवृत्ति :

यति बेला नेकपा एमालेको आन्तरिक एकताले चर्चा पाएको छ । तर प्रधानमन्त्री पद गुमाउँदाको पीडा जति केपी शर्मा ओलीमा देखिन्छ, त्यति उनका विरोधी माधव नेपालमा देखिँदैन । सत्ताबाट हट्नासाथ ओलीले बाल्कोटस्थित आफ्नै निवासको बार्दलीबाट माधव नेपालको नाम नै लिएर गद्दार शब्दले गाली गरे । अन्य नेताहरुका बारेमा विचार गर्न सकिन्छ तर माधव नेपाललाई कुनै पनि हालतमा एमालेमा आउन दिइनेछैन भने । यही कुरो ओलीले गत साता एक कार्यक्रममा दोहो¥याउँदै नेपाललाई ‘राष्ट्रघाती’ को संज्ञा दिए । पूर्वप्रधानमन्त्रीजस्तो ओहोदाकोे एउटा नेताले आफ्नै पार्टीको वरिष्ठ नेतालाई लगाएको यो आरोप र गालीलाई उपयुक्त मान्न सकिँदैन । यो हदैसम्मको असहिष्णुता अहिले जरुरी थिएन ।

राजनीतिमा आरोप, प्रत्यारोप र गालीगलौज अन्तर्राष्ट्रिय संस्कार नै बनेको छ । सन् १८०० को अमेरिकी राष्ट्रपति चुनावमा थोमस जेफरसनले राष्ट्रपतिका उम्मेदवार जोन एडम्सलाई ‘नपुंसक’ भनेका थिए भने उत्तरमा एडम्सले जेफरसनलाई ‘थाहा नभएको नश्लको सन्तान’ भनेका थिए । सन् १९९२ मा क्याब्रे डान्सर फ्लावरले बिल क्लिन्टनको चरित्रमाथि धावा बोलिन् । आफ्नो क्लिनटनसँग लामो समयदेखि अवैध सम्बन्ध रहेको कुरा प्रकट गरिन् । क्लिन्टनलाई चुनावी मैदानमा परास्त गर्ने विपक्षीको योजनामुताबिक उनले यो आरोप लगाएको प्रमाणित भयो । अन्ततः चुनाव क्लिन्टनले नै जिते । सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यासी हिलारी क्लिन्टनलाई पूर्वराष्ट्रपति क्लिन्टनको यौन लिप्साका बारेमा कुरा निकाले र इमेल प्रकरणमा गोप्य सूचना चुहाएको आरोपमा जेल हाल्ने कुरा गरे । यी दुुईले टेलिभिजन साक्षात्कार कार्यक्रममा हातसम्म मिलाएनन् ।

भारतीय राजनीतिमा त्यहाँको भारतीय जनता पार्टीलाई गालीगलौजको मानक मानिन्छ । यो पार्टीका कार्यकर्ताले स्व. इन्दिरा गान्धीलाई अश्लील शब्दसमेत प्रयोग गरी गाली गर्थे । जब पाकिस्तानँंग युद्ध भयो, भाजपाकै नेता अटलविहारी वाजपेयीले इन्दिरालाई दुर्गा मा भन्न थाले । तल्लो तहका कार्यकर्ता हेरेको हे¥यै भए । त्यसो हुँदा गालीको राजनीतिमा कुनै मूल्य हुँदैन । यस कारण राजनीतिमा गाली गर्नु आफैं नराम्रो हुनु हो । अहिले नेपालमा रिस उठ्नेबित्तिकै जो–कोहीलाई पनि भारतीय दलाल, ’र’ का एजेन्ट, विदेशी गुप्तचर आदि भनिन्छ । नेपालका शीर्ष भनिने नेताहरुमै यस प्रकारको चरित्र देखिनु राष्ट्रकै लागि लज्जाको विषय हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को लोकसभा चुनावमा ‘खुनी पञ्जा’ भन्दै कांग्रेस आईको चुनाव चिह्नमाथि कटाक्ष गरे । प्रतिउत्तरमा भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतीय जनता पार्टीका कार्यकर्तालाई ‘चोर र लुटेराको गिरोह’ भन्नुका साथै ‘इन्डियन मुजाहिद्दिनको समूह’समेत भने । स्वयं मोदीलाई चुनावी मैदानमा लो प्रोफाइल (चिया पसले), साम्प्रदायिक भनेर टिप्पणी गरियो । केही वर्षअघि उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘युद्ध रुचाउने बूढो मान्छे’ भनी टिप्पणी ग¥यो । जवाफमा ट्रम्पले उत्तर कोरियाली शासक (नेता) किम जोङ उनलाई ‘आफूले पुट्के र मोटे नभन्ने’ बताए ।

यी घटना चुनावी सन्दर्भका थिए । अहिले हामीकहाँ चुनावी सन्दर्भ छैन । संविधानसम्मत तवरले एउटा सरकार हटेर अर्को बनेको अवस्था मात्रै छ । यद्यपि नेकपा एमालेकै सांसदले पार्टी ह्विप नमान्दा, प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दा र विश्वासको मत दिँदा यी घटनाहरु घटेका छन् । दलीय व्यवस्थामा सांसदहरु आफ्नै दलप्रति उत्तरदायी बन्नुपर्छ । अन्यथा अनुशासन उल्लंघन गरेको ठहर्छ । यहाँ पनि एमालेका केही नेताहरुले अनुशासन तोडेको साँचो हो । यसको नेतृत्व उक्त दलका वरिष्ठ नेता माधवकुमार नेपालले गरेकै हुन् । तर त्यसको उत्तर पार्टीभित्रबाटै खोजिनुपर्नेमा आमसभा गरेर, गालीगलोज गरेर जसरी हुर्मत लिने काम भयो त्यो संस्कृति अपाच्य देखिन्छ । एउटा गलत कामको जवाफ अर्को त्यस्तै गलत शैली अवलम्बन गरेरै दिनुपर्छ भन्ने छ र ? आफ्ना दलका नेता, कार्यकर्ताले गरेको गल्तीका लागि राज्यको स्रोत–साधन खर्चेर जवाफ दिन उपयुक्त हुँदैन । जे नगर्नुपर्ने हो त्यही गरियो । यसको उपचार अब कसैमाथि गाली बर्साएर र आगामी पिँढीलाई गलत संस्कार सिकाएर हुन सक्दैन ।

अर्काेलाई नहोच्याएसम्म आफू अग्लो हुन नसकिने मनोविज्ञान सबै पार्टीका नेतामा छ । लेनिनका शब्दमा ‘राजनीतिमा गालीले नै प्रायः गाली गर्नेको दुःख लाग्दो शक्तिहीनता, असहायपन, विचारधारात्मक सन्तोषको कमीलाई पूर्णरूपले ढाकिदिन्छ । शायद यही अवस्था हामीकहाँ पनि छ ।

अर्को पार्टीलाई गाली नगरेसम्म राम्रो नेता–कार्यकर्ता होइन्न कि भन्ने सबै पार्टीमा छ । विपक्षी पार्टीका कुरा सुन्नै नसक्ने र खराबै भए पनि आफ्नो पार्टीका कुरा ठीक भन्ने परिपाटी सबैतिर छ । पार्टी बैठकमा पार्टीका नीति–कार्यक्रमबारे छलफलमा भन्दा अरु पार्टीलाई खेदो खनेर समय बिताइन्छ । यो पनि गलत संस्कार नै हो । कम्तीमा पनि अग्रज भन्नेहरुले नयाँ पुस्तालाई सभ्य, शालीन र नीतिपरक राजनीतिक संस्कार सिकाउन सक्नुपर्छ । यसका लागि आफैं उदाहरणीय बन्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्