व्यवसायी मैत्री ऐन बनाउन आग्रह



काठमाडौं, (नेस) ।

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

बिहीबार बालुवाटारमा भेट गरी बधाई तथा शुभकामना दिँदै शैक्षिक परामर्श क्षेत्रमा भएका समस्याका विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराइएको थियो ।

नेकाका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले प्रम देउवासमक्ष छात्रवृत्ति ऐनअन्तर्गत नेकाले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा जान रोक्ने, शैक्षिक परामर्श संघहरूको दर्ता प्रक्रिया झन्झटिलो रहेको र त्यसलाई एकद्वार प्रणालीबाट लागू गर्न, कोभिडको असरले परामर्श व्यावसायीहरूको अवस्था दयनीय रहेकाले राहत प्रदान गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी, शिक्षा ऐनमा समेटिएका कतिपय बुँदाहरू व्यवसाय मैत्री नभएकोमा व्यवसायी मैत्री बनाउन अध्यक्ष प्याकुरेलले आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले शिक्षा मन्त्रालयअन्तर्गत रहेका शैक्षिक परामर्शको सम्पूर्ण समस्याको समाधान गर्न राष्ट्रिय शैक्षिक परामर्श संघसँग सुझाव लिँदै समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको सचिव दीपक कोइरालले जानकारी दिनुभयो ।

भेटमा नेकाका अध्यक्ष प्याकुरेलसँगै उपाध्यक्ष निरज सिटौला, महासचिव राकेश श्रेष्ठ, सचिव दीपक कोइराला, कोषाध्यक्ष रमण कोइराला, सदस्यहरू बीपी शर्मा, विक्रम शर्मा कँडेल र केशव सिंखडाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्