ओली : ‘वान् मेन आर्मी !’



  • पेशल आचार्य

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको ‘जीवनी, व्यक्तित्व र कृतित्व’ मा भोलिका दिनमा कसै न कसैले कुनै न कुनै विश्वविद्यालयबाट शोध, अनुसन्धान वा अध्ययन गर्न सक्छन् । एमफिल वा पीएचडीको विषय उनी हुन सक्छन् । त्यो भविष्यको गर्भमा रहेको छ । संसारमा असम्भव भन्ने कुरा केही हुँदैन भनेझैँ भोलिको पुस्ताले उनको वस्तुगत या विषयगत अध्ययन गर्न पाउने अवसरहरू आऊलान् तर अहिलेका नयाँ पुस्ता वा उनको पक्ष/विपक्षमा लेखिएका लेख, फिचर, अनुसन्धान या अन्य दस्तावेजहरूले कि त उनको ‘देवत्वकरण’ गरेका छन्, कि त उनको ‘दानवीकरण’ गरेका छन् । यो सानो आलेखमा उनको समग्र राजनीतिक जीवनका बारेमा फ्ल्यासब्याक गरेर हेर्ने कोशिश गरिएको छ । यहाँ उनलाई मानिसका रूपमा मात्र राखेर उनका राम्रा गुणहरू र सुधार गर्नुपर्ने कुराहरूसमेतलाई राखिएको छ । आशा छ, यो प्रकारको लेखले प्रिय पाठकहरूका रूचिलाई केही हदसम्म भए पनि सम्बोधन गर्नेछ ।

राजनीतिलाई वक्ररेखा भनी चित्रण गर्नेहरू संसारमा धेरै छन् । भनिन्छ, राजनीति सोझो बाटो कहिल्यै हिँड्दैन । अर्को चर्चित भनाइ छ, ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुँदैनन् । ताल, तिकडम र बठ्याइँ गर्नेहरूले त शत्रुको शत्रुलाई मित्रु बनाई प्रयोग गरिरहेका हुन्छन् ।’

नेपाली राजनीतिमा अचम्मका पहेलीहरू, कथाहरू, संकथनहरू र सन्दर्भहरू आउँछन् । अनेक पात्रले भरिभराउ छ नेपालको राजनीति । यस्तै पात्रहरूमध्ये एक पात्र हुन् निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली । उनको जन्म साधारण परिवारमा, शिक्षादीक्षा पनि साधारण, राजनीति पनि साधारण, राजनीतिक जीवनका उहापोह र घटनाहरू पनि साधारण हुँदाहुँदै उनी एकाएक नेपाली राजनीतिको केन्द्रविन्दुमा आएर स्थापित भए ।

एमालेको निर्माणमा दार्शनिकरूपले जति मदन भण्डारीको योगदान र चिन्तन छ त्यसका तुलनामा केपी ओलीको छैन भन्दा हुन्छ । दार्शनिक र चिन्तनको योगदान नभएर के भयो, उनले देखाएको सांगठनिक कौशलता र पछिल्लो अधिवेशनमा एमाले माधव नेपाललाई हराएर जुन तवरले चुनाव जिते त्यो मानेमा उनको राजनीतिक करिअर यो दोस्रोपटक सरकारको नेतृत्व गर्दा भने धेरै चर्चित र विवादित बन्ने काम गरे । त्यो कसैले नभएर उनको अन्तर्मनकै कारणले भयो तर भैदियो के भने, अहिले बितेका ४० महिनायता पहिले नेकपामा पहिलो अध्यक्ष र फुटपछि एमालेमा एकछत्र राज भैदियो ।

नेपाली कांग्रेस र एमाओवादीले स्थानीय निर्वाचनमा गठजोड गर्दै जुन प्रकारले सिट जित्ने काम गरे राजनीतिका चतुर खेलाडी ओलीले त्यसलाई नजिकबाट नियालेका थिए । कांग्रेसले माओवादीसँग मिलेर राजनीतिक क्यास गर्न हुन्छ भने आफूले गर्न किन नहुने भन्दै उनले एमाओवादी नेता प्रचण्डलाई एकताको पासा फ्याँके । सिद्धान्त र व्यवहारका रूपमा उत्तरी र दक्षिणी ध्रुवजस्तै भएर राजनीति गरिरहेका एमाले र एमाओवादीहरू दुवै मिले । त्यति बेलै केही कांग्रेसी नेताले यो तोरी र कोदोको मिश्रण हो यी मौकामा छुट्टिन्छन् भनेर खिसी गरे । उनीहरू एक पार्टी दुई अध्यक्ष भएर चुनावमा गए, जाँदा लगभग दुई तिहाइ नजिकको बहुमत नेकपालाई ल्याए । जुन केपीले सोचेका थिएनन् । आएपछि त आयोआयो, स्वीकार्नै पर्‍यो ।

प्रधानमन्त्रीमा पहिलो वर्ष उनको कार्यकाल शानदार रह्यो । विपक्ष निम्छरो थियो, संसद्मा एउटा कुनामा बसेर कि त उङ्थ्यो, कि त ओलीका ओल्चेका तर्कहरूले डराएर बस्थ्यो । दोस्रो वर्ष ‘समृद्धि र विकासका गफ’ जब हावा साबित हुँदै जान थाले, निर्मला पन्त हत्याको जघन्य घटना बाहिर आयो, त्यसमा सरकारले गर्नुपर्ने दायित्व निभाएन । हुँदा–हुँदा रेल, पानीजहाज, मोनो, मेट्रो र स्मार्ट सिटीका कुरा वर्ष बित्दै जाँदा हावादारी सपनाजस्ता देखिए । त्यसबाटै उनको साख गिर्दै गयो ।
‘उद्भट् प्रतिभा’ र टाठो स्वभावका ओलीले उनको चालीस महिने दोस्रो कार्यकालमा विभिन्न प्रकारका तमासा देखाए ।

सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान र राष्ट्रिय अनुसन्धानजस्ता स्वतन्त्र संयन्त्रहरू आफ्नो कब्जामा राखे । भन्नलाई उनले ‘म भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीको मुखसम्म हेर्दिन’ भने तर उनकै शासनकालमा जति भ्रष्टाचार बाहिर आए तिनलाई लिस्टिङ मात्रै गर्दिने हो भने जो–कोही छक्क पर्छन् । उनका पालामा भएका वाइडबडी, ओम्नी, यती, सेक्युरिटी प्रेस, ललिता निवास जग्गा, राजदूत नियुक्तिका दन्त्य कथाझैँ सन्दर्भहरू, विद्युत् प्राधिकरणमा कुलमानलाई पुनर्नियुक्ति नदिई सालो नाताका हितेन्द्र शाक्यलाई कार्यकारी निर्देशक बनाउनेजस्ता प्रकरणहरूमा मात्र नभएर संवैधानिक नियुक्तिका अनेकन र राजनीतिक नियुक्तिका लाभका पदमा भएका नियुक्ति, पार्टीका बैठक, काम कारबाही मात्र नभएर सम्पूर्ण देशको प्रशासन बालुवाटारबाट सञ्चालन गरी सिंहदरबारलाई उपेक्षा गर्ने संस्कृतिको शुभारम्भ उनैले गरे ।

ताजुबको कुरा, नेपाली प्रधानमन्त्रीहरूमा सबैभन्दा बढी मिडियाले खेदेका प्रधानमन्त्री ओली नै भए । उनले आफ्नो कार्यकालमा भएका शिलान्यास र उद्घाटनमा पत्रकारहरूलाई बोलाएर धेरै पत्रकार सम्मेलन गर्ने र देशवासीका नाममा सन्देश दिने प्रधानमन्त्रीसमेतमा पहिलो भए । उनले गणतन्त्रको खिलाप गर्दै अध्यादेशतन्त्र चलाए । अदालत, आयोग, कूटनीतिक नियोगमा राम्रा मान्छेलाई हटाएर हाम्रा मान्छेलाई बढावा दिने प्रचलन चलाए । अरू दलभित्र खेल्न खोजेर दल विभाजनका लागि अध्यादेश ल्याउने कामदेखि लिएर विपक्षी सांसद अपहरण गर्ने कार्यको निर्देशन गर्दै चर्चित भए । गणतन्त्रलाई बयलगाडा चढेर अमेरिकाको यात्रा भन्ने विम्बमात्र दिएनन्, आफ्नै पार्टीका गुटका नेतालाई चाबुक हान्न र कहिले विपक्षीलाई तर्साउनका लागि दुई–दुईपटकसम्म संसद् विघटन गरिदिए ।

पहिलोपटकमा अदालतले उनलाई जितायो तर बाहिरबाट हेर्दा दुई नेकपालाई अलगथलग गरेको हो कि जस्तो पनि लाग्यो । अदालतमा समेत आफ्नो सेटिङको भान पारेका ओलीलाई जेठ ७ को विघटन उनको राजनीतिक जीवनमै धेरै महँगो भयो । त्यो पछिल्लोपटकको विघटनले धेरै विवादहरू सिर्जना गर्‍यो । अदालतले न्याय दिँदा ओली तीन चिताङ खाए । आफ्ना समर्थकलाई प्रधान न्यायाधीशको पुत्ला जलाउन र विरोध गर्नसमेत लगाउन भ्याए । हुँदा–हुँदा नेपालमा पहिलोपल्ट बाँदर जुलुस निकाल्ने पनि यिनी नै पहिलो प्रतिपक्षी नेता हुन् ।

वास्तवमा ओली संसद्लाई, अदालतलाई र सरकारलाई सबैतिर बिजनेस दिन सक्ने नेता हुन् । उनको सकारात्मक पक्ष भनेको नै विपक्षीलाई हाँसी–हाँसी भित्तामा पुर्‍याउन सक्नु हो । उनले गतवर्ष संसद्मा चुच्चे नक्सा पारित गर्दा भारतलाई लक्षित गर्दै गरेको ‘सिंह मेव जयते’ आशयको भाषणले पुनः चर्चामा आए । चर्चा सेलाउन नपाउँदै उनैका पाहुना बनेर आएका गोयलसँगको गोप्य मन्त्रणापछि ‘नेपाली राजनीतिका पेले’ ओली क्रमशः ओरालो लागेका हुन् ।

जानकारहरूका शब्दमा– ‘ओली आफ्नो डेढ अक्कल र भाषणबाज सन्की स्वभावका कारण आफ्नो ५० प्रतिशत लोकप्रियता घटाउन सफल भए भने बाँकी ५० प्रतिशत लोकप्रियता उनका सल्लाहकारत्रय (डा. राजन भट्टराई, विष्णु रिमाल र सूर्य थापा) का कारण घटेको हो ।’ पछिल्लो चरणमा आएर ओलीले गरेका राम्रा कामहरूको समेत नेगेटिभ प्रचारप्रसारका कारण नेगेटिभ इम्पेक्ट समाजमा पर्न गयो र उनको चौतर्फीरूपमा विरोधै मात्र हुन थाल्यो ।

जो–कोहीलाई चित पार्ने कुरा त राजदूत नियुक्तिदेखि संवैधानिक नियुक्तिका पदहरूमा आफ्नो गीता गाउने मान्छे हुलेर प्रधानमन्त्रीको गरिमा घटाउने काम गर्दै नियम मिचे । गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनाल र राजनीतिक सल्लाहकार डा. राजन भट्टराईकी सासू आमा, जो झापामा निमावि शिक्षिका थिइन्, लाई युरोपको राजदूत बनाउनु ओलीका लागि ख्यालख्याल भए पनि नेपाली कूटनीतिक क्षेत्रको इतिहासमा भने देशकै बेइज्जतको शुभारम्भसमेत हो । शिक्षिकालाई राजदूत बनाउनु भनेको राणकालीन समयमा हुने ‘पाँडे पजनी’ कै झझल्को हो ।

ओलीले सत्तामा बसेर के–के गरे भन्दा पनि के–के गरेनन् भनेर प्रश्न गर्दा हुन्छ । कोरोना महामारीमा संसद् र बालुवाटारमा ‘बोसीय’ र ‘फ्याटीय’ तत्व भनेर नामकरण गर्दा उनको संसद् र संसद्बाहिर चौतर्फीरूपमा बेइज्जत भयो । अम्बाको पात चबाउने, तातोपानीले गार्गिल गर्नेदेखि लिएर यिनले बोलेका कुराहरूको तथ्यात्मक शैलीमा मीमांसा गर्ने हो भने ओली अलिकति देवकोटा, अलिकति न्युटन, अलिकति व्यास, अलिकति अश्विनीकुुमार, अलिकति कालिदास र अलिकति चाणक्यझैँ लाग्न थालेका थिए । यसैलाई भनिन्छ ‘वान् मेन आर्मी’ को भूमिका ।

राजनीतिक हिसाबले उनले प्रतिपक्षलाई पेल्ने, जनतालाई रेल्ने र आफ्ना अन्टसन्ट दर्शनलाई समाजमा ठेल्ने जुन नीति लिए, त्यसले गर्दा उनको दुई तिहाइको उँचो राजनीतिक कद एकाएक ‘लिलिपुट’ हुन पुग्यो । त्यसो त उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि अदालतले गरेको परमादेशलाई समेत व्यङ्ग्य हान्न छाडेनन् । उनले भने, ‘मसँग जनादेश थियो तर देउवाजीसँग परमादेश भयो ।’ उनले देउवाको सरकारले समयमै चुनाव गराउने कुरामा शंका प्रकट गरेका छन् । आफ्नो ४० महिने शासनकालमा मुस्किलले १० पटक सिंहदरबार टेकेका ओली अहिले बालकोट दरबार फर्केर प्रतिपक्षी दलका नेता भएपछि भने दिनहुँ एमाले पार्टी अफिस थापाथली धाउन थालेका छन् । उनले सम्पादन गर्ने सबै पार्टीगत काम त्यहीँबाटै सम्पादन हुने गर्छन् । कोरोनाको डर देखाएर उनले बालुवाटारलाई लगभग पार्टीको हेड क्वाटर नै जस्तो गरी प्रयोग गरे ।
जसरी ओली दन्त्य कथाको बादशाह भएर शक्तिको अथाह दुरुपयोग गर्दे ‘मिनी तानाशाह’ बन्ने निर्णयमा पुगे त्यसै गरी कथाकै सन्की नाङ्गो बादशाहझैँ प्रमाणित भई सत्ताबाट विमुख भए । यो कार्यमा कांग्रेसको पाइनले मात्र काम गरेन । एमालेका नेता माधव नेपालले ‘सौताको रिसले पोइको काखमा …. गरेको’ उखान त्यति बेला सार्थक भएको हो ।

एक सय गुणमा असी जति सुधार गर्नुपर्ने गुणहरू रहे/भए पनि आफ्ना पार्टीका भोटर, कार्यकर्ता र नेताहरूलाई संरक्षण गरेर राख्न सक्ने खुबी भएका र तत्क्षण जवाफ फर्काउन सक्ने ‘उद्भट’ नेता हुन् । नेपालमा यस्तो नेता अहिलेसम्म देखिएका थिएनन् । अहिले नेपालको राजनीतिमा ओलीजस्ता मास लिडरका सट्टामा मेनेजरियल लिडरको आवश्यकता रहेको छ । तर उनी छिमेकीहरूसँग देखावटीकै लागि भए पनि आवाजको टक्कर गर्न सक्ने आँटिला नेता भने हुन्, जुन उनका समकालीन आफ्नो पार्टीका नेता र अन्य पार्टीका नेताहरूमा भेटिँदैन ।

प्रतिक्रिया दिनुहोस्