उपकुलपति डा. गिरी हटाउन प्रक्रिया थालिने



काठमाडौं, (नेस) ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित ४ जना पदाधिकारीलाई हटाउन प्रक्रिया थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहमत भएपछि बुधबारदेखि आन्दोलन टुंगिएको छ ।

सरकार र प्रतिष्ठानको शुद्धीकरण अभियान–२०७८, संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको संघर्ष समितिले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रतिष्ठानको संघर्ष समितिबीच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ (घ) मा व्यवस्था भएअनुरूप चारैजना पदाधिकारीलाई पदबाट हटाउन प्रक्रिया चाल्ने उल्लेख गरिएको छ ।

सरकारी वार्ता टोली र आन्दोलनकारीबीच प्रतिष्ठानका पदाधिकारीमाथि कारबाही थाल्न तत्काल सिनेट बैठक बोलाएर प्रतिष्ठानमा भएका अनियमितता अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने, प्रतिष्ठानको पदाधिकारी नियुक्तिको सम्बन्धमा यसअघि बुझाइएका प्रतिवेदन र ऐन नियमहरूलाई आधार मानेर मापदण्ड तय गर्ने, प्रतिष्ठानमा भएका अनियमितता र त्यसबारे अख्तियारमा परेको उजुरीको छानबिन छिटो फछ्र्याैट गर्न स्वास्थ्य मन्त्रालयले अख्तियारसँग समन्वय गर्ने र चिकित्सकहरू बुधबारदेखि नै काममा फर्कने सहमति भएको छ ।

त्यसै गरी छानबिन कार्यदलको प्रतिवेदनका सुझाव तथा अघिल्ला प्रतिवेदनहरू पनि सार्वजनिक गरी कार्यान्वयनमा लैजाने सहमति भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छुट्टै महाशाखा तोक्ने सहमति भएको छ ।

करिब २ महिनादेखि प्रतिष्ठानभित्रको अनियमितता छानबिन गर्नुपर्ने, दक्ष, योग्य र सक्षम पदाधिकारी नियुक्ति गर्नुपर्ने माग राख्दै प्रतिष्ठानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थी आन्दोलनरत थिए । आन्दोलनकारीले काठमाडौंमा पनि विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्