वित्तीय क्षेत्रको सामाजिक उत्तरदायित्व खर्च उच्च



काठमाडौं, नेस । 

नेपाल राष्ट्र बैंकले नेपालको बैंकिङ उद्योगमा संस्थागत सामाजिक उत्तरदायित्व विषयक अध्ययन सम्पन्न गरी प्रतिवेदन प्रकाशन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी अभ्यास को यथार्थता केलाउन तथा यस बैंकबाट यस सम्बन्धमा जारी गरिएका निर्देशनहरुकोे कार्यान्वयन स्थिति विश्लेषण गर्ने उद्देश्यले यो अध्ययन गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको वार्षिक प्रतिवेदन, नेपाल राष्ट्र बैंकमा पेश गरेका तथ्यांक साथै २०७७ कार्तिक २० गतेदेखि मंसिर २६ गतेसम्म गरिएको अनलाइन सर्वेक्षणका आधारमा अध्ययन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अध्ययन अनुसार आव २०७६-७७ मा बैंक तथा वित्तीय संस्थाहरुले आव २०७५-७६ को खुद मुनाफाको १ दशमलव ५८ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको देखिन्छ, जुन यस बैंकले तोकेको खुद मुनाफाको न्यूनतम १ प्रतिशतभन्दा माथि रहेको छ । बैंक तथा वित्तीय संस्थाको वर्ग अनुसार हेर्दा ‘क’ वर्गका वाणिज्य बैंकहरुले औसतमा १ दशमलव ५४ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकहरुले १ दशमलव ५५ प्रतिशत, ‘ग’ वर्गका वित्त कम्पनीहरुले १ दशमलव ६६ प्रतिशत तथा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुले २ दशमलव शून्य १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुमध्ये ८५ प्रतिशतको आफ्नो छुट्टै संस्थागत सामाजिक उत्तरदायित्व नीति रहेको तथा ५१ प्रतिशतले सो सम्बन्धी वार्षिक योजना बनाउने गरेको देखिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको खर्च क्षेत्रगत तथा प्रदेशगतरुपमा सन्तुलित भने हुन सकेको छैन । सुधार हुँदै गएपनि सामाजिक उत्तरदायित्व कोषको दुई तिहाईभन्दा बढी बागमती प्रदेशमा खर्च हुने गरेको छ । आव २०७५-७६ मा ३५ प्रतिशत वाणिज्य बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको क्षेत्रगत खर्च आफ्नो वार्षिक प्रतिवेदनमा खुलाएकोमा आव २०७६-७७ मा सो संख्या बढेर ३८ प्रतिशत पुगेको देखिएको छ ।

त्यस्तै, आव २०७५-७६ मा १२ प्रतिशत वाणिज्य बैंकहरुले वार्षिक प्रतिवेदनमा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको प्रदेशगत खर्च खुलाएकोमा आव २०७६-७७ मा सो संख्या बढेर ३० दशमलव ८ प्रतिशत पुगेको देखिएको छ । यसरी निर्देशन दिए बमोजिम सामाजिक उत्तरदायित्व कोषको खर्चको विवरण वार्षिक प्रतिवेदनमा खुलाउने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्