निजी आवास पुनर्निर्माणको काम ८४ प्रतिशत पूरा



नेपाल समाचारपत्र, पर्वत ।

आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म पर्वतमा निजी आवास पुनर्निर्माणको काम ८४ प्रतिशत सम्पन्न भएको छ । भूकम्पबाट क्षति पुगेका पर्वतका ६ हजार २ सय ६७ घरमध्ये ८४ प्रतिशतले घर निर्माण सम्पन्न गरेका हुन् ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई पर्वतले दिएको जानकारीअनुसार जिल्लामा ४ हजार १ सय ६३ जनाले तेस्रो तथा अन्तिम किस्ता लिएका छन् । जसमध्ये पहिलो किस्ता लिनेको संख्या ५ हजार ६ सय ६५ रहेको छ भने दोस्रो किस्ता लिने ४ हजार ७ सय १२ जना रहेका छन् । त्यस्तै प्रबलीकरणतर्फ जिल्लामा ३ सय ४३ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये १ सय २९ जनाबाहेक अरु सबैले पहिलो किस्ता लिइसकेको कार्यलयले जनाएको छ । कार्यालयले जोखिमयुक्त बस्तीका घरको लागि जग्गा खरिद र व्यवस्थापन, ग्रामीण सडक स्तोरन्नती, गुम्बा मर्मतलगायतका काममा समेत उल्लेख्य प्रगति हासीले गरेको इकाई प्रमुख कृष्णराज गौतमले बताउनुभयो ।

आवास पुनर्निर्माणका लागि पहिलो किस्ता बापत ५० हजार रुपियाँ पाउने भूकम्पपीडितले मापदण्डअनुसार घरको जग तयार गरेपछि दोस्रो किस्तावापत एक लाख ५० हजार र घर पूर्ण तयार भएपछि बाँकी १ लाख रुपियाँ पाउने प्रावधान रहेको छ । त्यस्तै शिक्षातर्फ ८० प्रतिशत सामुदायिक बिद्यालयको पुनर्निर्माणको काम सकिएको छ । प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका आयोजना प्रमुख युक्त पौडेलका अनुसार भूकम्पमा क्षति पुगेका ८० प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको र २० प्रतिशत विद्यालयको पुनर्निर्माणको काम मात्रै बाँकी रहेको छ । भूकम्पले जिल्लाका ३ सय १० सामुदायिक विद्यालयमध्ये १ सय ८८ वटा विद्यालय भवनमा क्षति पु¥याएको थियो । ती विद्यालयको ६ सय ६१ वटा कक्षा कोठामा क्षति पुर्‍याएको थियो । जसमध्ये ४७ वटा चार कोठे भवनको पुनर्निर्माण थालिएकोमा हालसम्म १४ वटाको काम सम्पन्न भएको छ । ३ कोठे चार वटामध्ये ३ वटाको काम सम्पन्न भएको र २ कोठे १८ वटामध्ये १२ वटाको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्