नेपालगन्ज–पोखरा उडान शुरू



नेपाल समाचारपत्र, बाँके ।

नेपालगन्जदेखि पोखरा उडान शुरू भएको छ । बुद्ध एयरले आइतबारदेखि त्यसको शुरुवात गरेको हो ।

पहिलो उडानमा १७ जना यात्रु पोखरा पुगेका छन् । बुद्ध एयर, नेपालगन्जका प्रबन्धक विनित शाहका अनुसार हप्ताको तीन दिन नेपालगन्ज–पोखरा–नेपालगन्ज उडान हुनेछ । बुद्ध एयरले आइतबार, बुधबार र शुक्रबार नेपालगन्ज–पोखरा–नेपालगन्ज उडान गर्नेछ । नेपालगन्ज–पोखराका लागि तीन किसिमको भाडादर कायम गरिएको छ । चार हजार नौ सय, पाँच हजार ६ सय र सात हजार ७ सय रुपियाँ रहेको छ । यात्रुको चापका आधारमा आगामी दिनमा उडान थप गर्न सकिने बुद्ध एयरले जनाएको छ ।

यसअघि नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस (नाट्टा) बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीता एयरको १८ सिटे विमानबाट चार्टर उडान थालिएको थियो । गत फागुन ७ गतेदेखि शुक्रबार र आइतबार नेपालगन्ज–पोखरा–नेपालगन्ज चार्टर उडान हुँदै आएको थियो । कोभिडका कारण त्यो रोकिएको थियो ।

नेपालगन्जको सिधा उडान पोखरासँग जोडिएपछि यहाँका पर्यटन व्यवसायसम्बद्ध खुशी भएका छन् । त्यसो त नेपालगन्ज–पोखरा उडान बहुप्रतिक्षित थियो । नेपालगन्ज विमानस्थलदेखि भारतको दिल्ली वा लखनउ र पोखरा उडान गराउन ठूलो पहल भइरहेको थियो । भारतको दिल्ली, लखनउलाई नेपालगन्ज हुँदै पोखरा जोड्दा पर्यटन व्यवसाय फस्टाउने सरोकारवालाहरूको भनाइ छ।

भारतीय पर्यटकहरू मानसरोबर जाने रुट नेपालगन्जलाई प्रयोग गर्छन् । उता नेपाल आउने धेरै पर्यटक पोखरा पुग्ने विश्वास गरिन्छ । पोखरासँग नेपालगन्जको सिधा कनेक्सन हुँदा उता पुगेका पर्यटकलाई नेपालगन्ज र आसपासमा ल्याउन सकिन्छ भन्ने आशा गरिएको छ । पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज–पोखर उडान हुँदा पर्यटन व्यवसायले ठूलो फड्को मार्ने बताउनुभयो । श्रेष्ठलगायतको टोली नेपालगन्ज–पोखराको पहिलो उडानमा जाने यात्रुलाई स्वागत तथा बिदाई गर्न नेपालगन्ज विमानस्थल पुगेको थियो ।

पर्यटकलाई लक्षित गरेर नेपालगन्जमा ठूला होटल बनेका छन् । मानसरोवरको सिजनमा यहाँका होटल भरिभराउ हुँदै आएका छन् । भारतको ठूलो शहर लखनउ नेपालगन्जदेखि नजिक दूरीमा रहेको छ । भारतीय पर्यटकलाई लक्षित गरी नेपालगन्ज र आसपासका पर्यटकीय स्थलको प्याकेज गराउने गरिन्छ । नेपालगन्जमा आउने पर्यटकलाई मानसरोबर, रारा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जका प्याकेज बनाउने प्याकेज बनाउनुपर्ने बताइरहेका पर्यटक व्यवसायीले अब पोखरासम्म नै यही रुटबाट लैजान सक्ने भएका छन् ।

विदेशी तथा आन्तरिक पर्यटकको पहिलो रुची बाघ हेर्नु देखिन्छ । बाँके र बर्दियामा बाघ हेर्न सहज रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ र बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ रहेका छन् । हिमालको अवलोकन गर्न पोखरा पुग्ने पर्यटकलाई नेपालगञ्ज ल्याएर बाँके र बर्दिया निकुञ्जमा रहेका बाघ देखाउन सकिन्छ ।

नेपालगन्ज पोखरा उडान भर्न सफल भएका पर्यटन व्यवसायीले अब भारतको लखनउसम्मलाई जोड्न सकेमा यस क्षेत्रको पर्यटन व्यवसायी फस्टाउनेमा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्