नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रम सकारात्मक



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो ।

भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले विभागले गरेको काम तथा भावी योजना बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘बैंक खोल्न हालसम्म गरेको काम र प्रक्रियाको विषयमा जानकारी गराएका थियौं । उहाँका अनुसार प्रम देउवाले देशभरका सहकारी क्षेत्रको प्रतिनिधित्व हुने गरी सहकारी बैंक खोल्न आवश्यक रहेको आशय व्यक्त गर्नुभएको थियो । ‘नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग परामर्श लिने धारणा प्रधानमन्त्रीले राख्नुभएको थियो । सचिव भण्डारीले भन्नुभयो–‘सहकारी बैंक खोल्ने विषयमा विभागले थप प्रक्रिया थाल्नेछ । विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिनुभएको थियो ।

विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जनसहितको कार्यसमितिका पदाधिकारी बालुवाटार पुग्नुभएको थियो । नेपाल सहकारी बैंक स्थापना गर्न संयोजक भण्डारीको नेतृत्वको टोलीले सहकारी विभागबाट सहमति लिइसकेको छ । नेपाल राष्ट्र बैंक र सहकारी महासंघको पत्र प्राप्त हुना साथ बैंक सञ्चालनमा आउनेछ । बैंक सञ्चालन गर्न राष्ट्रिय भेला सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्